इटहरी : धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले इटहरीको तरहरा नजिक पानिपियामा सीमा बोर्ड राखेका छन् । सोमबार बिहान ‘धरान उपमहानगरपालिका सीमा प्रारम्भ’ लेखिएको बोर्ड इटहरीका नगर प्रहरीले दिउँसो हटाएका छन् ।

यसअघि पनि सोही स्थानमा बोर्ड राखेका साम्पाङ लामो समय बेखबर बनेका थिए । उनले राखेको बोर्ड युवासंघले उखेलेको थियो । यस पटक उनका नगर प्रहरीहरूले बिजुलीको पोलमा बोर्ड टाँसेका थिए । यस पटक पनि धरानको बोर्ड हटाएको इटहरी उपमहानगरले सेउती पुल नजिकै ‘इटहरीमा स्वागत छ’ भन्ने बोर्ड राख्ने भएको छ ।

यसअघि पनि धरानका स्थानीय नेताहरूले इटहरीको पानीपिया सम्म आफ्नो क्षेत्राधिकार रहेको भन्दै बोर्ड राख्दै आएका थिए । इटहरी उपमहानगरपालिकाले भने सेउती खोलाको सिमानामा बोर्ड राख्ने गरेको छ। धरानको सीमा क्षेत्र पानीपिया भएको भन्दै बोर्ड राखिएको मेयर साम्पाङको दाबी छ । खासमा धरान उपमहानगरपालिकाको भूमिगत पानीको श्रोत चारकोसे जङ्गलमा पर्छ । सोही श्रोतलाई आफ्नो पालिका भित्र पार्नको लागि साम्पाङले बोर्ड सार्ने कामलाई अगाडी बढाएका छन् ।

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले समन्वय र संवाद मार्फत समस्याको हल गर्नुपर्ने बताउँदै आएका छन् । वार्ता मार्फत हल गर्न सकिने विषयलाई जनस्तरमा भिडाउने काम गर्न नहुने उनको तर्क छ ।

इटहरीका पूर्व प्रधानपञ्च तथा पूर्व भूमिसुधार मन्त्री रामकुमार सुब्बाले प्रशासनिक र भौगोलिक हिसाबमा इटहरीको सिमाना सेउती खेला सम्म भएको बताएका छन् । विगतमा सेउती खोला दक्षिणका सम्पूर्ण घटनाहरू इटहरीको प्रशासनले हेर्ने गरेको नजिर सुनाउँदै उनले सेउती पारी मात्र धरान भएको बताए ।

इटहरी र धरानको सीमा विवाद चर्कँदै गएको बेला जिल्ला समन्वय समिति भने मौन छ । पालिका स्तरमा देखिएका विवादलाई समाधान गर्न लाग्नुपर्ने समिति गुमनाम भएको हो ।

ITAHARI-DHARAN-SIMA-BIABDseema prarambha 2