धरान : माध्यमिक विद्यालय तह देखि नै धरानमा कानुन विषय पढ्न पाउने स्कुल पनि छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले दुई वर्ष अघि देखी प्लस टु कक्षामा कानुन विषय पठनपाठन गर्दै आएको छ ।

हिबिस्कस धरानमा कानुन विषय पढाई हुने पहिलो स्कुल हो । स्कुलले यसपालिको नयाँ शैक्षिक सत्रमा पनि कानुन विषय पढ्न चाहने कक्षा ११ का विद्यार्थीहरूलाई भर्ना लिने स्कुलका निर्देशक गङ्गाराम कुलुङले बताए ।

उनका अनुसार स्कुलमा दुई वर्ष अघि देखि नै एसइईमा उत्तीर्ण विद्यार्थीहरूलाई भर्ना लिएर कानुन विषयको अध्यापन सुरु गरेको हो । निर्देशक कुलुङले भने ‘धरानमा संस्थागत स्कुलहरू मध्ये पहिलो पटक कक्षा ११ देखि नै कानुन विषयमा पढाउने हिबिस्कस पहिलो हो ।’ स्कुलले हरेक वर्ष नयाँ शैक्षिक योजना अघि ल्याउन गरेको उनको भनाई छ ।

पछिल्लो समय कानुन विषय रोजगारीसँग जोडिएकोले विद्यार्थीहरूमा कानुन विषयप्रति आकर्षण बढेका उनले बताए । विद्यार्थीहरूको माग र आवश्यकतालाई ध्यान दिएर कानुन विषयको पठन पाठन सुरु गरिएको निर्देशक कुलुङको भनाई छ ।

उनले भने ‘कानुन विषयमा प्लस टु गरेका विद्यार्थी लेखापढी सेन्टर खोलेर रोजगार बन्न सक्छन् ।’ स्कुलमा कानुनमा स्नातक एलएलबि तह सञ्चालन गर्ने तयारी भइरहेको छ ।

हिबिस्कस स्कुल २०६३ साल देखी सञ्चालनमा आएको हो । स्कुलले एसइईमा ए प्लस उत्तीर्ण विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने गरेको छ । गरिब जेहेन्दार विद्यार्थीलाई सहुलियत दिने गरेको छ । स्कुलमा नर्सरीदेखि कक्षा १२ सम्मको पढाई हुन्छ ।