धरान : नेपाली काँग्रेसले बिरुवा रोपेर ग्रीन एण्ड क्लिन धरान अभियान चलाउने भएको छ । काँग्रेस सुनसरी क्षेत्र नम्बर १ सभापति सुजेन्द्र तामाङले घरघरमा बिरुवा बाँडेर अभियान सुरु गर्ने बताएका छन् । 

क्षेत्र नम्बर १ प्रदेश सभा १ र २ को संयुक्त सम्मेलनमा बोल्दै तामाङले अभियानको पक्षमा लाग्न अनुरोध गरे । काँग्रेसको चुनाव चिन्ह पनि रुख भएकोले सङ्गठन सुदृढीकरण सँगै हरियाली प्रवर्द्धनका लागि अभियान सुरु गर्न लागिएको बताए । 

सम्पूर्ण कार्यकर्तालाई सम्बोधन गर्दै उनले व्यक्ति भन्दा पार्टी हेरेर काममा लाग्न अनुरोध गरे । वडा देखि नगर र क्षेत्र समितिले आआफ्नो काम र जिम्मेवारीलाई पूरा गर्नुपर्ने धारणा राखे ।

गठबन्धन र महाधिवेशनको तिक्तता त्यागेर सबैले मुख हेरेर हैन रुख हेरेर अगाडि बढ्नुपर्ने उनको विचार छ । नेतृत्वको मुख भन्दा पनि काँग्रेसको सिद्धान्त र विचारको पक्षमा लाग्नुपर्ने उनको धारणा छ ।