इटहरी : संसदमा बोल्दै सांसद ज्ञानेन्द्र बहादुर कार्कीले बिपी कोइराला विज्ञान प्रतिष्ठानको स्वायत्तता खोस्ने नहुने बताएका छन् ।

शुक्रवार प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्व मन्त्री समेत रहेका कार्कीले नेपालकै पहिलो र प्रथम जननिर्वाचित प्रधानमन्त्रीको नाममा स्थापित प्रतिष्ठानलाई छाता ऐनमा समावेश गरेर प्रतिष्ठानको मर्म र भावना विपरीत नगर्न ध्यानाकर्षण गराए ।

बिपी प्रतिष्ठानलाई छाता ऐन अन्तरगत राखेर नियमन गर्ने चर्चाले प्रतिष्ठानको प्रतिष्ठा कमजोर हुने उनले बताए । छाता ऐनमा राख्ने विषयमा धरानका स्थानीय सरोकारवालाले केन्द्रीय नेतृत्व सँग खबरदारी गर्दै आएका छन् ।

सुनसरी ४ का प्रतिनिधिसभा सदस्य कार्कीले प्रतिष्ठान पहिलो जननिर्वाचित प्रधानमन्त्रीको नामबाट राखिएकोले त्यसको गरिमा राख्नुपर्ने आशय व्यक्त गरे ।