इटहरी : इटहरी-१९ तरहराका लालबहादुर विश्वकर्माको न्यायको माग गर्दै इटहरीमा विरोध प्रदर्शन भएको छ । ठगी मुद्दामा फसाउन खोजेको भन्दै स्थानीयले प्रदर्शन गरेका हुन् ।
लालबहादुरका आफन्त तथा छिमेकी सहित इटहरी उपमहानगरपालिका कार्यालय अगाडी भेला भएर मुख्य चोकमा नाराबाजी सहित प्रदर्शन गरेका छन्  । सुनसरी जिल्ला अदालतले ठगी मुद्दामा १८ महिना जेल सजाय सहित ३ करोड १४ लाख ३३ हजार बिगो तिर्नुपर्ने फैसला गरेको थियो । अदालतको फैसलाले अन्यायमा परेको भन्दै लालबहादुर पक्षधरले पुनरावेदन दिएका छन् ।
इटहरी-२० मा संचालित सिंहदेवी ज्वेलर्समा ज्यालादारीमा काम गर्दै आएका उनी हाल झुम्का कारागारमा छन् । ज्वेलर्सका मालिक दिपक गजमेरले बचतकर्ताको बचत अपचलन गरेपछि पासबुकमा हस्ताक्षर गरेको आधारमा लालबहादुरलाई दोषी करार गरिएको हो । पासबुकमा हस्ताक्षर गरेर अवैध रूपमा बैङ्क तथा वित्तीय संस्था सञ्चालन गरेको आरोपमा जिल्ला अदालत सुनसरीले उनीमाथि मुद्दा चलाएको हो ।
सोही फैसला विरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको आठ महिनामा आठ पटक पेसी तोकिसकेको छ । तीमध्ये एक पेसीमा न्यायाधीशले प्रत्यर्थी झिकाउने र अर्कोमा प्रमाण बुझ्ने आदेश दिएका थिए । त्यसबाहेक चार वटा पेसी हेर्न नमिल्ने र दुइटा स्थगितमा परको छ । नवौँ पेसी साउन १६ गतेका लागि तोकिएको छ ।