इटहरी : नेपाली काँग्रेस सुनसरी जिल्ला सम्मेलनमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता डाक्टर शेखर कोइराला आउने भएका छन् । सुनसरीको इनरुवामा आयोजित सभालाई दुई नेताले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

दुवै नेताहरू बिपी कोइरालाको पुर्णकदको सालिक अनावरण कार्यक्रममा सहभागी हुन आउने कार्य तालीका रहेको जिल्ला सभापति केदार भण्डारीले जानकारी दिए ।

कार्यक्रमको तयारीको विषयमा आयोजित पत्रकार सम्मेलनमा भण्डारीले इनरुवाको बबियामा रहेको सालिक अनावरण पछि दिउँसो १ बजे जिल्ला भेला तय भएको बताए । बिहान सम्पूर्ण पालिकामा वृक्षारोपण गर्ने र दिउँसो सम्पूर्ण नेता कार्यकर्ताको उपस्थितिमा कार्यक्रम गरिने उनको भनाइ छ ।

वडा, पालिका तथा क्षेत्रीय सम्मेलन पछि जिल्ला सम्मेलन मार्फत कार्यकर्तामा ऊर्जा भर्ने काम भइरहेको उनले बताए । काँग्रेस ऐतिहासिक पार्टी भएको बताउँदै उनले पञ्चायतको पालामा भएको विकाश र बहुदल पछि भएका विकाशको कुनै तुलना गर्नै नमिल्ने उनले प्रष्ट पारे ।

बिपी कोइरालाले कल्पना गरेको प्रजातान्त्रिक समाजवादको सपनालाई पुरा गर्न काँग्रेस लागिरहेको उनको भनाइ छ ।