विराटनगर : नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष समेत रहेका युवा साहित्यकार मीनकुमार नवोदित कोशी प्रदेश सरकारबाट 'उत्कृष्ट साहित्य पुरस्कार'बाट पुरस्कृत भएका छन् ।

विगत दुई दशकभन्दा लामो समयदेखि साहित्य र पत्रकारितामा सक्रिय नवोदितलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका मन्त्री प्रदीप सुनुवारले दोसल्ला ओढाएर नगद ५० हजार राशि र सम्मान-पत्र प्रदान गरे ।

नवोदित यसअघि सङ्घीय सरकार युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने युवा वर्ष मोती पुरस्कारबाट समेत विभूषित भइसकेका छन् ।

नवोदितका ‘फूलबारीभित्रका भमराहरू’ (२०५७), ‘झरीले रुझेको गाउँ’ (२०७०) र ‘समयको बयान’ (२०७८) गरी तीन वटा कविता सङ्ग्रह प्रकाशित छन् ।

एक दर्जनभन्दा बढी साहित्यिक र सामाजिक सङ्घसंस्थामा आबद्ध नवोदित तीन दर्जनभन्दा बढी सङ्घसंस्थाबाट पुरस्कृत र सम्मानित भइसकेका छन् ।

कार्यक्रममा नवोदितसहित भाषा, साहित्य, संस्कृति, कला, सङ्गीत लगायतका क्षेत्रमा योगदान पुर्याउने स्रष्टाहरूलाई समेत पुरस्कृत गरिएको थियो ।