इटहरी : नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजीव ढुङ्गानाले जनताको पक्षमा निर्णय गरेको दिनदेखि काँग्रेस स्वतः बलियो बन्दै जाने टिप्पणी गरेका छन् । केन्द्रीय समितिको बैठकमा धारणा राख्दै सुनसरीका ढुङ्गानाले पार्टीको सबलताको विषयमा भन्दा पनि जनताको पक्षमा निर्णय गरेर गाउँमा जानुपर्ने बताएका हुन् ।

बढ्दो महँगी र भ्रष्टाचारको विषयमा निर्मम भएर अगाडी बढ्न उनले आग्रह गरे । युवाको विदेश पलायन रोकेर देशमै रोजगारीको वातावरण सृजना गर्न कस्तो रणनीति अपनाउन सकिन्छ भन्ने बारे ठोस कदम चाल्नुपर्ने उनको धारणा छ । जनताले चासोका साथ हेरेको केन्द्रीय समिति बैठकबाट हुने निर्णयले काँग्रेसको आगामी भाग्य र भविष्यको फैसला गर्ने उनको भनाई छ ।

बैठक लाइभ गरेकोमा सभापति शेरबहादुर देउवालाई धन्यवाद दिँदै ढुङ्गानाले नयाँ पार्टीको उदयमा पुराना पार्टीको अकर्मण्यता देखिएको प्रस्ट पारे । बिपीले भनेको प्रजातान्त्रिक समाजवादको कुरा जनताले महसुस गर्ने गरी अगाडी बढाउनुपर्ने बताए । ‘स्थानीय, प्रदेश र संघिय सरकारबाट समाजवाद झल्किने गरी कार्यक्रम ल्याउने की नल्याउने ?’ उनले प्रश्न गरे, ‘हामीले नेतृत्व गरेका सरकार बाट जनताले संरक्षण पाएको महसुस किन नगराउने ?’

‘तिन वटै तहका सरकार हामीसँग हुँदा राम्रो काम गर्नुपर्‍यो । घोषणापत्र कार्यनयनमा भरपर्दो संयन्त्र बनाउनुपर्छ । जनताको पक्षमा काम गर्नेलाई पुरस्कृत गर्ने र भ्रष्टलाई दण्डित गर्ने व्यवस्था पार्टीमा ल्याउनुपर्छ,’ उनले भने ।  रूपान्तरण जरुरी रहेको बताउँदै पार्टी सभापतिलाई जति गाली गर्‍यो त्यति धेरै पार्टी बलियो हुन्छ भन्ने गलत बुझाई देखिएको भन्दै चिन्ता व्यक्त गरे ।