धरान : धरानमा डेङ्गु बिरामीका कारण आज मङ्गलवार धरान-१६ का ९ वर्षीय बालकको मृत्यु भएको छ । उनलाई उपचारका लागि बिग हस्पिटल विराटनगर पुर्‍याइएको थियो ।

बालकलाई हस्पिटलले सोमबार दिउँसो २ बजे नै मृत्यु भएको घोषणा गरेको थियो । २ दिन अघि ज्वरो आएको बालकलाई ज्वरोले अझ बढी च्याप्पे पछि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो ।

बिपीमा सघन उपचारको लागि आइसियु कक्ष खाली नभएको बताइएपछि विराटनगर स्थित बिग हस्पिटल रिफर गरेको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए ।

बालकको आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा ढिलाइ भएको धरान-१६ का वडा अध्यक्ष मुरारी भट्टराईले बताए । उनले भने ‘उपचारको लागि वडाले उपचार सहयोग तथा आर्थिक सहयोग गर्ने प्रक्रिया अघि बढाएको थियो ।’ तर उनको मृत्युको खबरले वडालाई अप्रत्याशित क्षति पुगेको उनले बताए ।

यसअघि केही दिन अगाडी धरान-११को १० बर्षिया बालिकाको मृत्यु भएको थियो । यो समेत धरानमा महामारीको रूपमा फैलिएको डेङ्गुले मृत्यु हुने बालबालिकाको सङ्ख्या दुई पुगेको छ ।

धरानमा मंगलबार सम्म स्वास्थ्य केन्द्रहरूमा बिरामीको सङ्ख्या बढेको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ ।महाशाखाको असार १० गते देखि हाल साउन ३० गते सम्मको तथ्याङ्क अनुसार धरानमा हाल सम्म १५ हजार ८१० जनाले डेङ्गु टेस्ट गरेका छन् । ११ हजार ३ सय ७३ जना डेङ्गु सङ्क्रमित पाइएका छन् ।

धरानमा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या ११ जना मध्ये वडा-२ मा १ जना, वडा-५ मा १ जना, वडा-१० मा १ जना, वडा-११ मा ४ जना, वडा-१५ मा १ जना, वडा-१६ मा १ जना, वडा-१७ मा १ जना र वडा-१८ मा १ जना रहेका छन् । धरानमा डेङ्गु रोकथाम तथा नियन्त्रण गर्न धरान हेल्थ पोस्ट छाता चोक,धरान सभागृह, सुनसरी उद्योग वाणिज्य सङ्घ, धरान १३ ,१४,१५ र बिपी प्रतिष्ठानमा स्वास्थ्य केन्द्र सञ्चालन गरिएको छ ।

स्वास्थ्य शाखाको अनुसार डेङ्गु नियन्त्रणका लागि सर्च  एण्ड डिस्ट्रोईड प्रमुख तथा प्रभावकारी अभियान भएकाले अभियान सञ्चालन भइरहेको भएता पनि डेङ्गु महामारी नियन्त्रण हुन सकेको छैन ।