इटहरी : इटहरीमा कुनै पनि प्रतिस्पर्धा नगराई भोटको भरमा विजयी घोषणा गर्ने नयाँ कार्यक्रम जारी छ । थप रोचक के छ भने मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगितामा सहभागी हुन चाहेका ७९ जनानै फाइनल चरणमा पुगेका छन् ।

भोटको आधारमा तलमाथि देखाएर बालबालिका मार्फत अभिभावक सम्म दबाब पुर्याउने काममा लाग्यो आयोजक जय मिडिया म्यानेजमेन्ट प्राली । बालबालिकालाई टिकट विक्री गराउने देखी कार्यक्रममा पानी समेत नदिएको भन्दै अभिभावकले गुनासो गरिरहेका छन् ।

बालबालिकाको प्रतिभा देखाउने र व्यक्तित्व विकाश गर्ने भनेर सुरु भएको प्रतियोगिताले पैसा बाहेक अन्य कुनै विषयमा ध्यान नदिएको अभिभावक दुखेसो पोख्छन् । भोटिङको नाममा पैसा असुल्ने काम मात्र भएको इटहरीका एक अभिभावकले बताएका छन् । नाम उल्लेख गर्दा छोरीलाई असर पुग्ने भन्दै उनले भने, ‘कहिले सकिएला जस्तो भएको छ । एउटै परिवारका दुई जना छोरीहरू प्रतिस्पर्धामा छन् । त्यसै कारण पारिवारिक कलह बढ्ला जस्तो भएको छ ।’

विभिन्न फेसनेवल पहिरन देखी साथीहरू सँगको देखासिकीमा छोरीहरू लाग्न थालेको उनले बताएका छन् । परीक्षामा राम्रो अङ्क ल्याउँदै गरेकी छोरीले प्रतियोगिताको कारण पढाइमा ध्यान दिन छाडेको उनको भनाइ छ ।

विभिन्न ब्युटी प्रेजेन्ट लगायत प्रतियोगिता सञ्चालन गरिरहेका पल इन्टरटेनमेन्ट प्रालिका सञ्चालक अमित पौडेल प्रतिस्पर्धा विना एकै पटक फाइनलमा पुर्‍याउनु गलत भएको बताउँछन् । भोट सम्म पुग्न प्रतियोगीले विभिन्न चरण पार गर्नुपर्ने पौडेलले बताए । उनले भने, ‘प्रतियोगीको शारीरिक मात्र हैन बौद्धिक क्षमताको मूल्याङ्कन हुन्छ । उसको प्रतिभा, व्यवहार, शैली, बनावट लगायत धेरै कुरामा अब्बल भएपछि मात्र भोटिङ राउन्ड सुरु गर्नुपर्छ ।’

सहभागी भएका सबैलाई फाइनल चरणमा पुर्‍याउनु पैसा मात्र कमाउने मनसाय भएको उनले तर्क गरे । यस्तै कारणले ब्युटी प्रेजेन्ट लगायत प्रतियोगिताको गरिमा कमजोर बन्ने उनको धारणा छ ।

उत्प्रेरणा दिने प्रतियोगिताले मात्र बाल मनोविज्ञानमा सकारात्मक असर पर्ने बताउँछीन सामाजिक मनोविज्ञ मन्जीता उपाध्याय । प्रतिभाको आधारका गर्नुपर्ने प्रतियोगिता पहुँच र पैसाको आधारमा भयो भने बालबालिकालाई दीर्घकालीन असर पुग्ने उनले बताइन् ।

पैसाको आधारमा हारजित हुँदा बच्चा हरूलाई हीनताबोध हुने देखी म हारेँ भन्ने अनुभूति गराउने उनको भनाइ छ । उनले भनिन् ,‘पढाइमा प्रथम द्वितीय बन्ने कुराले उसलाई थप मेहनत गर भनेर हौसला प्रदान गर्न सकिन्छ । तर यस्ता प्रतियोगितामा कसरी सम्झाउने कसरी बुझाउने ? भोली बालबालिका अभिभावक सँग टाढिन सक्छन् । मेरो लागि यति पनि गर्न सकेन भन्ने भाव बढ्दै गयो भने त्यसको असर दीर्घकाल सम्म पर्छ । एउटा अभिभावको लागि आफ्नो सन्तानको नजरमा गिर्नु भन्दा ठुलो कुरा के हुन्छ ?’

इटहरीमा हुने कार्यक्रम प्रहरीले बन्द गरायो, फाइनल कार्यक्रम विराटनगरमा

मिस/मिस्टर लिटल कोशीको नाममा पैसा कमाउने धन्दा चल्यो । तिन महिना सम्म विभिन्न कार्यक्रम गरेर बालबालिका भुलाउने काम भयो । गत भदौ १६ गते शनिवार फाइनल हुने भनिएको कार्यक्रम आगामी सोमबार सम्मको लागि सरेको छ । एक दिनमा सक्ने तय भएको कार्यक्रम भोटिङको लागि विभिन्न चरण थप गरेर तिन दिन पुर्‍याइएको छ । एक अभिभावकका अनुसार इटहरीमा हुने भनिएको फाइनल कार्यक्रम विराटनगर सारिएको छ ।

जिल्ला प्रशासनको अनुमति लिएको भनेर झुटो कागज पत्र देखाएपछि प्रहरीले कार्यक्रम बन्द गरेको थियो । आफूले दिएको निवेदनलाई अनुमति भनेर देखाएपछि प्रहरीले कार्यक्रम रोक्न निर्देशन दिएको थियो । यस विषयमा बुझ्न आयोजकलाई फोन गर्दा सम्पर्कमा आएनन् ।