इटहरी : राष्ट्रिय युवा सङ्घ नेपालको कोशी प्रदेशको प्रथम अध्यक्षमा अरुण गुरुङ चयन भएका छन् । शनिवार धरानमा सम्पन्न प्रथम अधिवेशनले अरुण गुरुङ नेतृत्वको कमिटी सर्वसम्मत चयन गरेको हो ।

युवा सङ्घ मातहत रहेको युथ फोर्सको प्रमुखमा राजन बानियाँ चयन भएका छन् । प्रवक्तामा मनोज रायले जिम्मेवारी पाएका छन् । गुरुङ, बानियाँ र राय सुनसरीबाट प्रतिनिधित्व गर्ने नेताहरू हुन् ।

त्यस्तै उपाध्यक्षमा जयप्रकाश रायमाझी, सचिव विनोद राना, सहसचिव निरजमान सिंह बस्नेत र शरण फागो चयन भएका छन् । कोषाध्यक्ष दीपेन्द्र घिसिङ (तामाङ) लगायत ८९ सदस्यीय कमिटी सर्वसम्मत भएको हो ।

सोही अधिवेशनले प्रदेशमा विभिन्न विभागको जिम्मेवारी बाडफाड गरेको । साइबर सर्कुलर प्रमुखमा सागर पोखरेल, विज्ञ युवा परिषद् प्रमुख दिनेश खड्का, महिला विभाग प्रमुख पार्वती तामाङ र सङ्गठन विभाग प्रमुख आनन्द राईले जिम्मेवारी पाएका छन् ।

नेकपा एमालेको युवा सङ्गठन युवा सङ्घको अधिवेशनको उद्घाटन उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले गरेका हुन् । धरानमा पहिचानवादीको आन्दोलन तीव्र रहेको बेला एमालेको धरानमा हुने भेलालाई निक्कै संवेदनशील रूपमा हेरिएको थियो ।

कडा सुरक्षा व्यवस्थाका बिच अधिवेशन सम्पन्न भएको हो । कोशी प्रदेशको नाम पहिचानको आधारमा नराखेको र त्यसको नेतृत्व एमालेले गरेको भन्दै पहिचानवादीले विरोध जनाउँदै आएका छन् ।