काठमाडौँ : अन्तर्राष्ट्रिय नेपाली चलचित्र ‘गोर्खा वारियर’को लन्डनमा ऐतिहासिक रेड कार्पेट प्रिमियर सम्पन्न भएको छ । हलिउड फिल्मको प्रिमियर केन्द्र मानिएको लिसेस्ट स्क्वायर लन्डनको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा बेलायतको समय अनुसार आइतबार दिउँसो १२ बजेबाट बेलुका ५ः३० बजेसम्म गोर्खा वारियरको प्रिमियर सम्पन्न भएको हो ।

गोर्खालीहरूले मलाय युद्धमा सफलता हासिल गरेको साहसिक कथामा निर्मित यो चलचित्र हेर्दा प्रिमियर शोमा निरन्तर ताली र सिट्ठी बजेको थियो । प्रिमियरमा शोमा अन्तर्राष्ट्रिय नेपाली चलचित्र ‘गोर्खा वारियर’लाई नौ सय जना अतिथिले हेरेको यसका निर्देशक मिलन चाम्सले बताएका छन् ।

प्रिमियर शोबारे चाम्सले भने,‘दिउँसो १२ बजेबाट २ बजेसम्म रेड कार्पेट इभेन्ट भयो भने त्यसपछिबाट आइम्याक्स सिनेवल्र्डमा करिब ४५ मिनेट औपचारिक कार्यक्रम भयो । त्यसपछि चलचित्र गोर्खा वारियरको प्रदर्शन सुरु भएको थियो ।’ उनले अगाडि थपे,‘मैले २० वर्ष अघि देखेको यो सपना ऐतिहासिक रूपमा आज यो प्रतिष्ठित स्थलमा भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रम मैले सोचेको भन्दा धेरै सफल भएकोमा साह्रै खुसी छु ।’

रेड कार्पेट इभेन्टमा ब्रिटिस आर्मीका मेजरको कमाण्डमा ब्रिगेड ब्यान्डले साङ्गीतिक प्रस्तुति दिएका थिए । यो ब्यान्डका तर्फबाट चलचित्र गोर्खा वारियरको गीत सहित विभिन्न गीतको धुन प्रस्तुत गर्दै प्रिमियरमा आगन्तुकहरूलाई स्वागत गरिएको थियो ।

निर्माता निर्देशक चाम्सका अनुसार यो प्रिमियरमा विशिष्ट अतिथिमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र अर्याल, सशस्त्र प्रहरी बलका पूर्व प्रहरी महानिरीक्षक तथा वरिष्ठ गीतकार शैलेन्द्र खनाल ‘सरद’ लगायत थिए । यस्तै हलिउडबाट मिसन ईम्पोसिवलका निर्माता टोमी ग्रोम्ली, हलिउडका पाईनहुड स्टूडियोका प्रमुख एन्डरु स्मिथ, अपरेसन म्यानेजर म्याट हाटकिन पनि विशेष अतिथिका रूपमा यो प्रिमियरमा सहभागी थिए ।

नेपालबाट नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, महासचिव अरुण कुमार प्रधान, निर्माता निर्देशक सन्तोष सेन, अभिनेता प्रेम पुरी, ओएसआर डिजिटलका अध्यक्ष एवम् चलचित्र व्यवसायी ओम अग्रवाल, सञ्चारकर्मी नरेश भट्टराई चलचित्र पत्रकार सङ्घका तर्फबाट महासचिव रघुनाथ सापकोटा, उपाध्यक्ष सुरक्षा भट्टराईलगायतका सञ्चारकर्मीको सहभागी रहेको पनि निर्देशक चाम्सले जानकारी गराएका छन् ।

यस्तै रेड कार्पेट प्रिमियरमा यो चलचित्रका अभिनेता रितेश चाम्स, अभिनेत्री रेवशका गुरुङ, संगीतकार एलिश कार्की लगायतको सहभागिता थियो । यसै गरी  बेलायतमा रहेका चलचित्र निर्देशकहरू डा. कपिल रिजाल, सनम कुमार बैराग, अभिनेता धु्रब दत्त, मनिष कुमार श्रेष्ठसहित विभिन्न नेपाली चलचित्रकर्मी, सङ्गीतकर्मी र नेपाली तथा बेलायती मोडलहरूको पनि त्यत्तिकै सहभागिता थियो ।

यस्तै प्रिमियरमा त्यहाँका ब्रिटिस गोर्खा सैनिकका विभिन्न अफिसर तथा बेलायतमा रहेका विभिन्न नेपाली सङ्घ संस्था र कूटनीतिक नियोगका पदाधिकारीहरूको पनि उल्लेख्य उपस्थिति थियो ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले यो प्रिमियरको ऐतिहासिक सफलताको लागि शुभकामना दिएका थिए भने नेपालका चलचित्र सम्बन्धी विभिन्न सङ्घ संस्थाबाट पनि शुभकामना प्राप्त भएको थियो ।

चलचित्र हेरेपछि अतिथिहरूले गोर्खा वारियरको बारेमा साह्रै राम्रो प्रतिक्रिया दिएको बताउँदै निर्देशक चाम्सले भने, ‘उहाँहरूको सकारात्मक तथा ऊर्जावान् प्रतिक्रिया सुनेर म हर्षले विभोर भएँ । अब यो चलचित्रको सिक्वेल कहिले बनाउने भनेर धेरैले जिज्ञासा राख्दै हामीलाई सिक्वेल बनाउने प्रेरणा समेत दिनु भएको छ ।’ यो चलचित्रको अन्तर्राष्ट्रिय विक्री वितरणको लागि पनि विभिन्न डिस्ट्रिव्युटरले चासो देखाएको उनले बताए ।

गोर्खा वारियरको अबको कार्यक्रमबारे निर्देशक चाम्सले भने,‘हामीले टिकट खोलेको केही दिनमै सबै टिकट बिक्री भएकाले पहिलो ऐतिहासिक प्रिमियरमा सबैलाई समेट्न सकेनौँ । अब हामी महिना दिनसम्म यहाँका विभिन्न स्थानमा यो चलचित्रको प्रिमियर गर्दै उहाँहरूलाई समेट्ने छौँ ।’ अहिले अन्य देशबाट पनि यो चलचित्रको प्रिमियरको माग भएको उनले बताएका छन् ।

चलचित्र गोर्खा वारियरलाई नेपालमा आगामी फागुन वा चैतमा नेपालसहित विश्वव्यापी रूपमा रिलिज गर्ने लक्ष्य रहेको पनि निर्माता निर्देशक चाम्सले जानकारी गराए ।

यो चलचित्रमा रितेश चाम्सले अभिनेताको रूपमा डेब्यु गरेका छन् । उनीसँगै यसमा विजय लामा, रेवशका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ । चलचित्र गोर्खा वारियार नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन हुने भएको छ । लन्डनको यो ऐतिहासिक प्रिमियर पछि फिल्मको विश्वव्यापी रिलिज मिति घोषणा गरिने भएको छ ।

यो सिनेमाको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ । यो चलचित्रमा युद्धसँगै गोर्खाली सैनिकको परिवारसँग बिछोडिँदाको मार्मिक कथा पनि समेटिएको छ । गोर्खा वारियरमा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रँग सँयोजन रहेको छ ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यस्तै कार्यकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् ।

gorkha primere 2

gorkha primere 4

gorkha primere 3

gorkha primere 5