धरान : उदयीमान बास्केटबल खेलाडी स्वर्गीय रेवाहाङ रुछेन्वुङ राईको स्मृतिमा उनको परिवारद्वारा रेवाहाङ रुछेन्वुङ राई मेमोरियल अक्षयकोष स्थापना गरेका छन् । 

धरान उपमहानगरपालिका १८ नम्वर वडा निवासी रेवतिरमण राई र आमा सुजात राई द्वारा गत वर्ष माघ २० गते १७ वर्षको कलिलो उमेरमा कक्षा १० मा अध्ययनरत बास्केटबलका उदयमान खेलाडी तथा छोरा रेवाहाङ रुछेन्वुङ राईको असामयिक निधन भएकोले उनको स्मृतिमा विद्यालय स्तरीय बास्केटबल प्रतियोगिता सञ्चालनार्थ धरान बास्केटबल सङ्घ र धरान मेधा कलेज बिच त्रिपक्षीय सम्झौता गरी रेवाहाङ रुछेन्वुङ राई मेमोरियल अक्षयकोष स्थापना गर्ने सम्झौता भएको छ । 

प्रतियोगिता आयोजनाको लागि अक्षय कोष स्थापना गर्न शुक्रवार अभिभावक, धरान बास्केटबल सङ्घ र धरान मेघा कलेजबिच त्रिपक्षीय सम्झौता गरी अक्षय कोषको लागि रेवाहाङका अभिभावकले सङ्घलाई नगद २ लाखको चेक समेत हस्तान्तरण गरेका छन् ।

धरानको कफी पब एण्ड रेष्टोमा आयोजित कार्यक्रममा अभिभावक तर्फबाट रेवतिरमण राई, मेघा कलेजका अध्यक्ष कैलाश लिम्बु र सङ्घका अध्यक्ष सुरज लामाले सम्झौता पत्रमा हस्तान्तरण गरेका छन् ।

सम्झौता पत्रमा प्रतियोगिताको नाम धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटबल प्रतियोगिता बताईएको छ । प्रतियोगिताको आयोजना मेघा कलेजले गर्नेछ भने संयोजन धरान बास्केटबल सङ्घले गर्नेछ । 

बार्षिकरुपमा हुने प्रतियोगिता धरान मेघा कलेजको कोर्टमा हुने छ । अक्षयकोषबाट प्राप्त हुने ब्याज रकम, आयोजकबाट प्राप्त हुने रकम तथा आयोजक, संयोजक र दाता अभिभावकबिच समन्वय गरेर प्रतियोगिताको लागि आवश्यक बजेट जुटाइने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

कार्यक्रममा मन्तव्य रेवाहाङका बुबा रेवतीरमण राईले आफूहरूले छोरा गुमाए पनि उनी जस्तै खेलाडी बन्ने सपना बोकेका अन्यलाई मद्दत पुगोस् भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न अक्षयकोष स्थापना गरेको बताए । उनले आगामी वर्षहरूमा पनि अक्षय कोष वृद्धिको लागि थप सहयोग गर्ने बताए । 

कार्यक्रममा जिल्ला बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदी, धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बु, धरान बास्केटबल सङ्घका अध्यक्ष सुरज लामा लगायतले बोलेका थिए । सङ्घका अनुसार यही चैत महिनाभित्र प्रतियोगिता आयोजना गर्ने तयारी हुने पत्रकार सम्मेलनमा बास्केटबल प्रशिक्षक विकास चाम्लिङले बताए ।  

Achhyakos