धरान : धरान इटहरी सडक खण्ड अन्तर्गत सेउती पुल देखि पानीपिया सम्मको सडक निर्माणमा ढिलाइ भएको भन्दै यातायात व्यवसायी र मजदुरहरूले सुरु गरेको अभियानमा धरानका पाँच राजनैतिक दलले ऐक्यबद्धता जनाएका छन् ।

बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै धरानका पाँच दलले सेउती-पानीपिया क्षेत्रको सडक निर्माण कार्य तत्काल गर्न सरकारको ध्यानाकर्षण गराएकाका छन् । नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीका नगर अध्यक्षहरूले संयुक्त विज्ञप्ति जारी गर्दै यातायात व्यवसायी र मजदुरहरूले राखेका माग पुरा गर्न सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।

विज्ञप्तिमा भनिएको छ ‘पूर्वी पहाडी जिल्ला जोड्ने राजमार्ग निर्माण प्राथमिकतामा रहनु पर्नेमा राज्यको कमजोर संयन्त्र तथा ठेकेदार कम्पनीको गैरजिम्मेवारीपनले उक्त सडक समयमा निर्माण हुन नसकेको हाम्रो बुझाई रहेको छ ।’

विज्ञप्तिमा  उक्त क्षेत्रमा काम गर्न कुनै पनि बाधा नरहेको तर जिम्मेवार सरकारी पक्ष तथा ठेकेदार कम्पनीले समय सीमा भित्र काम नसकी ढिलासुस्ती गर्नुमा सरकारी पक्ष र ठेकेदार पक्षबिच लेनदेनको असमझदारी रहेको कुरा स्पष्ट भएको बताइएको छ ।

‘नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघं, नेपाल ट्रक यातायात व्यवसायी महासघं,नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन,अखिल नेपाल यातायात मजदुर सघं र नेपाल यातायात मजदुर सघंको कोशी प्रदेश समितिले मिति २०८०/०६/०८ गते जिल्ला प्रशासन कार्यालय सुनसरीलाई बुझाएको ध्यानाकर्षण पत्रले आम नागरिक,यातायात व्यवसायी,मजदुरलाई परेको समस्यालाई प्रस्टसँग बुझाएको छ । यातायात व्यवसायी तथा मजदुरबाट ध्यानाकर्षण सहित  राखिएका माग र कार्यक्रमहरूप्रति हाम्रो ऐक्यबद्धता रहेको प्रस्ट पार्न चाहन्छौ ।’ विज्ञप्तिमा भनिएको छ ।

दलहरूको तर्फबाट पटक पटक सरकारलाई यस विषयमा लिखित तथा मौखिक रूपमा ध्यानाकर्षण गराएको समेत स्पष्ट पार्दै यातायात व्यवसायी तथा मजदुरहरूका तर्फबाट राखिएका माग तत्काल सम्बोधन गर्न र सडक निर्माण कार्य सम्पन्न गर्न सरकारी पक्षसँग माग गर्दछौँ-विज्ञप्तिमा भनिएको छ ।

PR dalharu