इटहरी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वको इशारा बुझेर काम गर्ने निर्देशन दिएका छन् । एमाले कोशी प्रदेशको प्रथम अधिवेशन उद्घाटनको क्रममा नेतृत्वको निर्णय विरुद्ध नलाग्न निर्देशन दिएका हुन् ।

कोशी प्रदेश अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने दबाबमा रहेका उनले सहमति र एकताका साथ अगाडि बढ्न आग्रह गरे । नेतृत्वले मूल्याङ्कन गरिरहेको बताउँदै उनले कतिपय कमी कमजोरी सच्याउन समय दिने बताए ।

अधिवेशनलाई इगोको विषय नबनाउन ओलीको आग्रह छ । "चुनाव भए हारजित हुन्छ । हारजितले इगोको जन्म हुन्छ," उनले भने ।

कोशी प्रदेशमा अध्यक्षको लागी ४ जनाको दाबेदारी रहे पनि विनोद ढकाल र घनश्याम खतिवडा मुख्य दाबेदार देखिएका छन् । ओलीले खतिवडालाई अध्यक्ष बनाउन इशारा गरिएको अधिवेशनमा उपस्थित नेताहरूले बताएका छन् । ढकाल पछि नहटे चुनावी प्रतिस्पर्धा बाट नेतृत्व चयन हुने देखिएको छ ।

फरक प्रसङ्गमा बोल्दै अध्यक्ष ओलीले मिसन ८४ अभियानलाई सफल बनाउन हरेक वडामा ५१ प्रतिशतको जनमत बनाउन निर्देशन दिए।

कम्युनिस्टका नाममा माधव (माधवकुमार नेपाल), प्रचण्ड (पुष्पकमल दाहाल) ले गद्दार गरेको बताए । दुई पटक सम्म पार्टी फुटाउने प्रचण्ड माधव जस्ता तत्त्वको कारण कम्युनिस्ट आन्दोलन कमजोर भएको उनको भनाइ छ ।