धरान : धरान-८ स्थित लाङ्घाली चौकमा बिहान ५: ३० बजेको समयमा मालवाहक ट्रक र स्कुटर एक आपसमा ठोक्किँदा घाइते भएका दुई जना मध्ये १ जनाको मृत्यु भएको छ।

शुक्रवार बिहानै धरानबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ४०६३ नम्बरको मालवाहक ट्रक र इटहरीबाट धरान आउँदै गरेको प्रदेश १-०२-०४५ प ३७४ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा स्कुटरमा सवार इटहरी-९ घर भएका ४५ वर्षीय आश बहादुर राईको बिपी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहान ७:२५ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

साँगुरीगढी-९ घर भएका घाइते ५० वर्षीय टेक बहादुर राई गम्भीर घाइते भएका छन् । उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सघन उपचार कक्षमा उपचार भइरहेको छ।

दुर्घटनापछि ट्रक चालक धनकुटा चौबिसे गाउँपालिका-६ का ३० वर्षीय चन्द्र प्रसाद राई सहित ट्रक र स्कुटर प्रहरी नियन्त्रणमा रहेको  जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।