झापा : झापाको दमकमा एक बेवारिसे शव फेला परेको छ ।

दमक नगरपालिका वडा नम्बर ९ चिया दोकान भन्ने स्थानको पश्चिमपट्टि रहेको कल्भर्टमा जमेको पानीमा डुबिरहेको अवस्थामा एक पुरुषको शव फेला परेको हो ।

शवको प्रकृति हेर्दा केही दिन अघि नै मृत्यु भएको हुनसक्ने देखिएको दमक नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष कुबेर प्रसाद भट्टराईले जानकारी दिए ।

शवको पहिचान हुन नसकेको दमक प्रहरीले जनाएको छ । अहिले प्रहरी घटनास्थलमा पुगेको छ । यस सम्बन्धीको विस्तृत विवरण भने आउन बाँकी छ ।

हत्या गरिएको आशङ्कामा प्रहरीले विस्तृत अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ, मृतकको साथबाट केही नगद र माेबाएल फेला परेको छ ।

शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी दमक अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।