वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं. १ वराहक्षेत्र मन्दिर एरियामा जारी प्रथम संस्करणको कोकाह कौशिकी मिनी गोल्डकप अन्तर्गत मङ्गलवार भएको खेलमा आयोजक कोकाह फुटबल क्लब वराहक्षेत्र विजयी भएको छ।

रियल ढुङ्ग्रीबोटे फुटबल क्लब उदयपुर माथि एक गोलको विरुद्ध दुई गोलको जित निकाल्दै आयोजकले सेमिफाइनलको यात्रा तय गरेको छ । फाइनल प्रवेशका लागि आयोजकले बिहीबार धरान-१६ फुटबल क्लब धरानसँग प्रतिस्पर्धा गर्नेछ ।

खेलमा म्यान अफ द म्याच आयोजकका अजय विष्ट घोषित भए । उनले नगद ११ सय रुपैयाँ प्राप्त गरे ।

कोकाह फुटबल क्लबको आयोजनामा धार्मिक तथा पौराणिक रूपमा प्रसिद्ध कोकाह खोलाको किनारामा रहेको खेल मैदानमा जारी प्रतियोगिता अन्तर्गत बुधवार विराटनगर सिटी फुटबल क्लब मोरङ र हाटखोला फुटबल क्लब वराहक्षेत्रका बिच खेल हुने आयोजक क्लबका अध्यक्ष प्रवीण श्रेष्ठले बताए ।