धरान : नेपाली बब मार्ली गङ्गा वरदानले पहिलो पटक रेडियो नेपालमा गाएको लोकप्रिय गीत ४५ वर्षपछि नयाँ भर्सनमा भिडियो युट्युबमा सार्वजनिक भएको छ।

‘कहाँमा काट्यो बेतको लौरी’ बोलको गीतले चार दशक नाघे पनि अझै लोकप्रिय छ । गायक वरदानको उक्त गीत २०३५ सालमा रेडियो नेपालमा रेकर्ड भएको थियो ।

२०५५ सालमा नमस्ते ब्याण्डका गायक ईश्वर गुरुङको सहयोगमा ‘गङ्गा वरदान भाग १’ एल्बमका लागि पुनः रेकर्ड गराएका थिए । उक्त गीत तेस्रो पटक अहिले भने रेगी भर्सनमा तयार गरिएको हो ।

जुपिहाङ्ग लिम्बुको सङ्गीत संयोजनमा नयाँ भर्सन धरानको न्यु भावना स्टुडियोमा रेकर्ड भएको हो । मिक्सिङ्ग डम्बर लिम्बुले गरेका हुन ।

गङ्गा वरदानका केही पुराना गीतहरूलाई पुनः नयाँ साजसज्जामा ल्याउने कार्य सिल्भर इन्टरटेनमेन्टले गरिरहेको छ । उनका अन्य लोकप्रिय गीतहरू पनि रेकर्डिङ भइसकेको इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले बताए ।

यसै क्रममा नयाँ भर्सन तथा भिडियो तयार भएको हो । भिडियो छायाङ्कन तथा सम्पादन एडम लिम्बुले गरेको गीतको नयाँ भर्सन इन्टरटेनमेन्टको युट्युब च्यानलमा सार्वजनिक भएको हो ।

२०२५ सालामा भोजपुरमा आयोजित लोक तथा नृत्य प्रतियोगितामा ‘दाइ त काले भाइ पनि काले, काले-काले मिलेर खाऊँ भाले’ बोलको गीतमा गङ्गा वरदानले दोस्रो स्थान प्राप्त गरेका थिए ।

१६ वर्षको उमेरमै लोकगीत सङ्कलन तथा गायनमा अगाडि आएका गायक, रचनाकार तथा सङ्गीतकार गङ्गा वरदान नेपाली सङ्गीत क्षेत्रमा पाँच दशक बढी बिताएका छन् ।

इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक श्रेष्ठका अनुसार मङ्सिर महिनामा उनको सम्मानमा ‘गङ्गा वरदान स्वर्णिम साँझ’ आयोजनाको तयारी गरिँदै छ । उक्त आयोजनबाट सङ्कलित रकम गायक गङ्गा वरदानलाई आर्थिक सहयोग प्रदान गरिने उनले बताए ।