विराटनगर : कुनै एक समयमा नेपालको पूर्वमा नै शैक्षिक धरोहरको रूपमा प्रख्यात विराट क्याम्पस वा विराट साइन्स क्याम्पस लामो समय सम्म सञ्चालनमा आएको थियो । विसं २०४८ मा तत्कालीन विराटनगर १४ जतुवामा १५.५ कट्ठा जग्गामा गुठीको रूपमा स्थापना भएको उक्त क्याम्पस २०६८/६९ सालसम्म निकै राम्रोसँग सञ्चालनमा थियो । यस क्याम्पसमा कुनै समयमा विद्यार्थीले भर्ना पाउन पनि निकै मुस्किल पर्दथ्यो ।

विभिन्न कारणले शैक्षिक गतिविधिमा गिरावट आएको विराट क्याम्पस विसं २०७६ मा आएर विभिन्न शैक्षिक संस्थाहरू सञ्चालन तथा व्यवस्थापनको समेत अनुभव बटुलेका आरसी कोइरालाले क्याम्पस प्रमुखको भूमिकामा रही नेतृत्व गर्दै उक्त क्याम्पसका नाममा रहेका विविएस, विएड र कक्षा ११र१२ का शैक्षिक कार्यक्रमहरूको स्वामीत्व ग्रहण गरी कार्यक्रमहरू सम्बन्धित निकायमा नवीकरण गरी पुनः सञ्चालनमा ल्याएका हुन ।

शैक्षिक सत्र २०७६/७७ मा स्नातक तह विविएस प्रथम वर्षमा भर्ना भएका विद्धार्थीहरुको चौथो वर्षको नतिजा प्रकाशित भएको छ । उक्त नतिजामा यस क्याम्पसका छात्र सञ्जय गुप्ताले ८१.२ प्रतिशत अङ्क प्राप्त गर्दै कोशी प्रदेशकै उत्कृष्ट विद्यार्थी बन्न सफल भएका छन् ।

नतिजामा दोस्रो स्थान युक्ता कार्की ३८३ अङ्क ७६.६ प्रतिशत हासिल गरेकी छन्, यसै गरी उक्त व्याजका सम्पूर्ण छात्र छात्रा शत प्रतिशत उत्तीर्ण भएको क्याम्पस प्रमुख आर।सी।कोइरालाले बताए । केही समयअघि स्नातक तेस्रो वर्षको प्रकाशित नतिजामा समेत यसै क्याम्पसकी छात्रा शारदा श्रेष्ठ स्तरमा उत्कृष्ट नतिजा ल्याएकी थिइन ।

क्याम्पसमा विविएस लाई वार्षिक कार्यक्रमको रूपमा नहेरेर सेमेस्टर प्रणाली भन्दा उत्कृष्ट अध्यापन पद्धति अपनाइएको छ । यस क्याम्पसमा एक घण्टा तीस मिनेटका तिन दिन तिन वटा र तिन दिन दुई वटा कक्षाहरू सञ्चालन हुन्छन् ।

मल्टिमिडिया तथा प्रोजेक्टर सिस्टमको प्रयोग गरी विद्यार्थी स्वयम्‌ले आफ्नो प्रस्तुति सहितको पठन पाठन, विभिन्न क्षेत्रका विज्ञहरूसँगको अन्तरक्रिया तथा छलफल, अनुभवी प्राध्यापकको समूह, बजार अध्ययन, शैक्षिक भ्रमण, पारिवारिक वातावरण आदिलाई प्राथमिकतामा राखी स्नातक तहका विद्यार्थीको क्षमता अभिवृद्धि गरिने भएकोले क्याम्पसको उत्कृष्ट शैक्षिक गतिविधिको कारणले नै छात्र छात्राको शैक्षिक स्तर सुधार भएको र उत्कृष्ट नतिजा प्राप्त भएको सहायक क्याम्पस प्रमुख रोशन घिमिरेले बताए।