धरान : मंगलबार राती ७ बजेतिर धरानमा रहेको महेन्द्र बहुमुखी क्याम्पस परिसरमा स्ववियु सभापति युवराज राई (अलौकिक) माथि आक्रमण भयो । धारिलो हतियार बोकेका विद्यार्थी नेता उमेश परियारका समूहले सभापति राईमाथि आक्रमणको प्रयास गरेको सभापति राईले जानकारी दिए ।

सभापति राईसँग चिया गफ गर्दै गरेका विद्यार्थीहरूले झगडा छुटाउने प्रयास गरे, तर स्थिति नियन्त्रण बाहिर जान थाल्यो । धारिलो हतियार बोकेका परियारले जथाभाबी बोल्दै सभापति राईलाई आक्रमणको प्रयास गरेको प्रत्यक्षदर्शी परम राई बताउँछन् । उनी भन्छन्,‘खास विवाद के हो थाहा भएन, क्याम्पसले निकालेको छात्रवृत्तिको सूचनाबारे विवाद भएको भनेर बुझेको छु । तर म पुग्दा सभापतिमाथि उमेश दाइले हेल्मेट प्रहार गर्ने प्रयास गर्दै हुनुहुन्थ्यो, साथमा खुकुरी जस्तो देखिने धारिलो हतियार पनि बोक्नु भएको रहेछ, हामीले नै खोसेका हौ।’

घटना किन र कसरी भयो भन्ने कुरा अझै स्पष्ट खुल्न सकेको छैन । सभापति राई भन्छन्,‘क्याम्पसको गेट अगाडि मलाई धारिलो हतियार सहित आक्रमण गरियो, म भाग्यवश जोगिएको हुँ ।’ त्रिविको नयाँ नियम अनुसार नै महेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराएको र चित्त नबुझेको खण्डमा दाबी विरोधको लागि एक हप्ताको समय छुट्ट्याइएको उनले बताए । तर छात्रवृत्ति कै विषयलाई लिएर परियारका समूहले आक्रमणको प्रयास गरेको प्रत्यक्षदर्शी इन्द्र राई बताउँछन् । उनले भने,‘छात्रवृत्तिको विषय ठुलो इस्यु नै होइन, दाबी विरोधको लागि समय छुट्टाइएको थियो तर क्याम्पस परिसरमा धारिलो हतियार देखाएर आतङ्क मच्चाउनु खेदजनक छ ।’

"परियारको समूह आक्रामक ढङ्गले प्रस्तुत हुँदा सभापति राई संयमित देखिन्थे, परियारले जथाभाबी बोलिरहँदा सभापति राई बसेर छलफल गर्ने मुडमा देखिन्थे ।" तर अचानक उनले सभापतिमाथि हेल्मेटले प्रहार गर्न खोजेको एक विद्यार्थीले बताए । उनले भने,‘केटाहरू नशा गरेर आए जस्तो देखिन्थे, शैली निकै आक्रामक थियो ।’

यता विद्यार्थी नेता शेखर रेग्मी घटना सामान्य रहेको बताउँछन् । उनका अनुसार क्याम्पसले परियारकी सालीलाई जति छात्रवृत्ति दिनुपर्ने थियो त्यति नदिएको र परियारलाई दाबी विरोधको समयबारे जानकारी नभएको कारण उनी आक्रामक बनेका हुन् । उनी धारिलो हतियार लिएर आएका हुन् भन्ने सत्य हो, तर प्रहार गरेका थिएनन् । रेग्मीले भने,‘हेल्मेटले हान्न खोजे जस्तो मात्र गरेका थिए । तर यसलाई सामाजिक सञ्जालमा आक्रमणका रूपमा प्रचार गरियो ।’

विद्यार्थी उपार्जन चाम्लिङ भने परियारले आक्रमण नगरे पनि क्याम्पस जस्तो संवेदनशील ठाउँमा धारिलो हतियार बोकेर आक्रामक बन्नु निन्दनीय रहेको बताउँछन् । उनी भन्छन्, ‘जे भयो त्यो क्याम्पस र विद्यार्थीका लागि सरम लाग्ने कुरा हो ,असन्तुष्टि सबैसँग हुन्छ । अहिलेको स्ववियु टिम र सभापतिसँग म आफैँ पनि निकै रुष्ट छु । तर असन्तुष्टि व्यक्त गर्ने पनि विधि हुन्छ । भनेजस्तो नहुने बित्तिकै भौतिक हमलामा उत्रिनु  लोकतन्त्रका लागि लाजमर्दो प्रश्न हो ।’

क्याम्पस परिसरमा भएको आपराधिक क्रियाकलापको बारेमा क्याम्पसले भने अहिलेसम्म कुनै पनि खालको प्रतिक्रिया जनाएको छैन । मंगलबार घटना भएको धेरै बेरपछि प्रहरी क्याम्पसमा पुगेको थियो भने प्रहरीले परियारसँगै अन्य २ जनालाई पनि नियन्त्रणमा लिएको थियो । आक्रमणको प्रयास गर्ने तीन जनाले घटनाप्रति माफी मागेपछि छाडिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।