धनकुटा : धनकुटा नगरका पर्यटकीय स्थलहरूको पहिचान गर्न पर्यटनकर्मीहरूको एक टोलीले बुधवार अवलोकन गरेको छ । पर्यटकीय स्थलहरूको पहिचान र प्रचारप्रसारका लागि पर्यटनकर्मी, पर्यटन व्यवसायीहरूको १५ सदस्यीय टोली धनकुटा आएको हो ।

पर्यटकीय स्थलहरूको पर्यटन प्रवर्द्धनको कार्य गर्दै आएका लेखक, ब्लगर, ट्राभल एजेन्सी, टुरिस्ट गाइड लगायत टोलीमा सहभागी छन् । उनीहरूले पाँच दिन धनकुटाको अवलोकन गर्नेछन् । उनीहरूले पर्यटकीय स्थलहरू, होमस्टे व्यवसाय, आठपहरिया जातिको संस्कृति लगायत अवलोकन गरेर प्रचारप्रसार गर्नेछन् ।

धनकुटा नगरपालिका, इसिमोड, कम्युनिटी होमस्टे नेटवर्क, स्मार्ट पानी र हुसाडेक नेपालको सहकार्यमा पर्यटन प्रवर्द्धनका लागि उनीहरू धनकुटा आएका हुन । टोलीको स्वागत कार्यक्रममा प्रमुख चिन्तन तामाङ, उपप्रमुख भिमादेवी खनाल, आर्थिक विकास अधिकृत विकास अधिकारी लगायतले फूलमाला लगाएर उनीहरूलाई स्वागत गरे ।

नगर प्रमुख तामाङले धनकुटा नगरमा पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले निरन्तर प्रयास गर्दै आएको बताए । उनले धनकुटाका पर्यटकीय क्षेत्रहरूलाई प्रचार प्रसार गरी सहयोग गर्न आग्रह गरे । पर्यटनकर्मी अनु लामाले पर्यटकीय हिसाबले धनकुटा महत्त्वपूर्ण क्षेत्र रहेको बताइन् ।

dhankuta-tourist-2