धरान : ललित अम्बर डिपो कप फुटबल प्रतियोगिता आज शुक्रवार देखी सुरु हुँदैछ । डिपो स्कुलको आयोजनामा हुँदै आएको डिपो कप यसपालि १८ औ संस्करण हो ।

मङ्सिर १५ देखि २२ गते सम्म चल्ने प्रतियोगिताको उद्घाटन खेल आयोजक डिपो स्कुल र हिमशिखर स्कुल तरहरा बिच हुनेछ । सुनसरी जिल्ला स्तरीय अन्तर विद्यालय डिपो कप फुटबलमा यसपालि धरानका १२ र धरान बाहिरका ४ विद्यालय सहभागी छन् ।

धरानबाट आयोजक डिपो, कार्मेल स्कुल, नेपाल पुलिस, एक्वा सेकेण्डरी, माउन्ट हर्मन, दिल्ली पब्लिक, विष्णु मेमोरियल, देउराली चिल्ड्रेन, हिविस्कस, मेरिल्याण्ड, प्रभात र समिट स्कुल प्रतियोगितामा सहभागी छन् । धरान बाहिरबाट हिमशिखर तरहरा, मर्निङ्ग स्टार भरौल, वराह राइजिङ्ग स्टार र लर्ड बुद्ध स्कुल रामधुनि सहभागी छ ।

प्रतियोगिताको विजेतालाई नगद ११ हजार १११ रुपैयाँ र रनिङ शिल्ड प्रदान गरिनेछ । उपविजेताले ७ हजार १११ रुपया पाउने छ । तेस्रो हुने टिमलाई ५ हजार १११ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडी, हाइस्कोरर र प्रत्येक खेलका म्यान अफ द म्याचले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको दिल बहादुर प्लेट च्याम्पियनका विजेताले नगद ३ हजार १११ रुपैयाँ र उपविजेताले २ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ । डिपो कपको पहिलो चरणमा पराजित टिम बिच प्लेट च्याम्पियन प्रतिस्पर्धा हुदैं आएको छ । प्रतियोगिताको सबै खेल डिपो स्कुलको खेल मैदानमा हुनेछ ।