धरान: धरान १८ स्थित डिपो स्कुलको खेल मैदानमा शुक्रबारबाट १६ औं ललित अम्बर डिपो कप शुरु भएको छ ।

शुक्रबार उद्घाटन भएको प्रतियोगिताको पहिलो खेलमा आयोजक डिपो स्कुल क विजयी भएको छ । खेलमा डिपोले २(१ गोल अन्तरले मेरील्यान्ड स्कुललाई पराजित गर्यो । खेलको पहिलो हाफमा कर्नरमा डिपोका माङसाम लिम्बुले गोल गर्दै अग्रता दिलाएका थिए । तर, मेरील्यान्डका आर्यन तामाङले गोल गर्दै खेल बराबरी बनाए । दोश्रो हाफमा फ्रि किकमा पुनः डिपोका माङसामले गोल गर्दै जितटिमलाई पुन अग्रता दिलाएको थिए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन ।

खेलको म्यान अफ द म्याच मेरील्यान्ड स्कुलका खेलाडि जुएस राई घोषित हुँदै मायाको चिनो र प्रमाणपत्र प्राप्त गरे । उनलाई कार्यक्रमका अध्यक्ष मेजर श्रवणकुमार लिम्बुले पुरस्कार प्रदान गरेका थिए । विजयी बन्दै डिपो दोश्रो चरणमा प्रवेश गरेको छ भने पराजित मेरील्यान्ड लेट दिलकुमार प्लेट कपको उपाधिका लागी प्रतिस्पर्धा गर्नेछ ।

शनिबार ३ वटा खेल हुने भएको छ । भोलीको पहिलो खेल विहान ११ बजे डिपो ख र धरान आर्दश स्कुल बिच हुनेछ । त्यस्तै दोश्रो खेल दिउँसो १ बजे इमानुएल स्कुल र नवज्योति बिच र तेश्रो खेल दिउँसो २ बजे इर्स्टन एजुकेसन एकेडमी र एक्वा डायन्स्टी स्कुल बिच हुने आयोजकले जनाएको छ । उक्त फुटबल प्रतियोगितमा धरान भरीका १३ वटा नीजी विद्यालयहरूले सहभागिता जनाएको छ ।

प्रतियोगिताको बिजेताले नगद १० हजार सहित रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुने समूहले नगद ५ हजार र तेस्रो हुनेले नगद ३ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । ललित अम्बर डिपो कपबाट पहिलो चरणबाट बाहिरीएका समूहलाई प्रतिष्पर्धा गराइने लेट दिलकुमार प्लेट कपको बिजेताले नगद ३ हजार सहित रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । उपबिजेताले भने नगद २ हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछ ।