धरान : भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका आवास विहीन भूकम्प पीडितहरूलाई आवास निर्माण गर्न नेपाली काँग्रेस धरान उपमहानगर समितिबाट जाने ६ सदस्यीय टोलीलाई आज सोमवार साँझ पार्टी पदाधिकारीहरूले बिदाइ गरेका छन् ।

टोलीको नेतृत्व धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तिलक राईले गरेका छन् । उनी काँग्रेस धरान नगर समितिका पूर्व सभापति, महासमिति सदस्य पनि हुन । टोली मङ्गलवार बिहान २ बजे जाजरकोट प्रस्थान गर्नेछ ।

टोलीमा काँग्रेस सुनसरी-१ प्रदेश सभा-१ का सचिव राजेन्द्र राई, २ का सचिव विजय घिमिरे, नगर सदस्य वसन्त राई, तरुण दल नगर उपाध्यक्ष विक्रम तामाङ र वडा १७ का सचिव सूर्यकुमार सुनुवार सहित रहेका छन् ।

अभियान टोलीलाई खादा माला लगाई नेपाली काँग्रेस धरान नगर समितिले बिदाइ गरेको हो । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार धरानको काँग्रेस टोलीले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रका पीडित परिवारलाई अस्थायी आवास निर्माण अभियानमा श्रमदान र सहयोग प्रदान गर्नेछ ।

नेपाली काँग्रेस धरानका सभापति श्याम पोखरेलका अनुसार धरानबाट गएको टोलीले भूकम्प प्रभावित क्षेत्रमा दुई वटा घरलाई पुग्ने जस्ता पाता, काँटी कब्जा, दुई वटा घरलाई पुग्ने बिजुलीको वायरिङका सामग्रीहरू लगायत घर निर्माण गर्नका लागि आवश्यक सामग्री र घर निर्माण गर्न जाने टोलीलाई चाहिने आवश्यक खानेकुराको सम्पूर्ण व्यवस्था सहित प्रस्थान गर्नेछ ।

सभापति पोखरेलले भने ‘धरानबाट गएको टोली दुई वटा घर निर्माण गरी सकेपछि मात्र फर्कने छ ।’ उनले काँग्रेस विधि पद्धति र प्रक्रिया मान्ने पार्टी भएकाले केन्द्रीय समितिको निर्देशन अनुसार मानवीय कार्य सहयोग पुर्‍याउन अभियानमा जोडिएको बताए ।

मानवीय सहयोग अभियानमा सक्दो सहयोग जुटाउन मद्दत पुर्‍याएकामा जन निर्वाचित बडाअध्यक्षहरु, उद्योगी व्यवसायी, यातायात व्यवसायी साथीहरूलाई उनले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।

निवर्तमान मेयर राईले भने ‘काँग्रेस जिम्मेवार र सहयोगी पार्टी सुख दुःख जनताको तन मनमा बस्ने पार्टी भएको साथै धरानको जिम्मेवार पार्टी कार्यकर्ता भएकाले पनि भूकम्प पीडितहरूलाई धरानबाट सहयोग, श्रमदान र सहकार्यका लागि टोलीको नेतृत्व गर्ने जिम्मेवारी पार्टीले दिएको हो ।’

केन्द्रीय समितिको निर्णय निर्देशन अनुसार काँग्रेसको सबै तह र तप्काबाट टोली जान नसकेपनी धरानबाट टोली गएको उनले बताए । भूकम्प प्रभावित ठाउँ जान २ दिन र आउन २ दिन लाग्ने त्यसको लागि समय १० देखि ११ दिन सम्मको खर्च व्यहोर्नु पर्ने पूर्व मेयर राईले बताए ।

उनले भने ‘पीडितहरूलाई सहयोग गर्न जान र आउनका लागि पनि खर्च बढ्ने भए पनि सबै तहका काँग्रेस टोली जान खर्च जुटाउन सक्ने अवस्था छैन ।’ भूकम्प प्रभावित क्षेत्रमा आवास निर्माण गर्न जाने टोली को १ च ६४७४ स्कार्पियोमा जाजरकोट प्रस्थान गर्दैछ ।

Congresh-jajarkot-bidai