धरान : राजधानी बाहिर धरानमा मुख्य कार्यालय रहेको मितेरी डेभलपमेन्ट बैङ्कले जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पबाट पीडित जनताका लागि ७ लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत तुलसीप्रसाद वस्तिद्वारा आज बिहीबार जारी विज्ञप्तिमा बुधवार बसेको सञ्चालक समितिले उक्त निर्णय गरेको जनाइएको छ । उक्त सहयोग राशि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिने छ ।

बैङ्कले भूकम्पका कारण धेरै नै जनधनको क्षति भएकोमा मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली ज्ञापन गर्दै पीडित परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।

कोशी प्रदेशका सुनसरी, मोरङ, झापा, धनकुटा र उदयपुर कार्यक्षेत्र रहेका मितेरी डेभलपमेन्ट बैङ्कले ग्रामीण क्षेत्रमा बैङ्किङ पहुँच देखी बाहिर रहेका जनसङ्ख्यालाई वित्तीय साक्षरता अभिवृद्धि गर्दै बैङ्किङ पहुँचमा ल्याउन स्थापना भएको जनाएको छ ।

त्यसरी प्रदत्त सेवा, आर्थिक गतिविधिबाट गरिएको मुनाफाको एउटा हिस्सा समाजका विभिन्न क्षेत्रमा सामाजिक उत्तरदायित्वमा योगदान गर्दै आएकोमा भूकम्प पीडितहरूको उद्धार तथा राहतका लागि योगदान गर्न उक्त रकम प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

miteri-bank-PR