धरान : जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा कात्तिक १७ गते गएको भूकम्पबाट पीडितहरूका लागि नेकपा एमाले धरान नगर कमिटीले १ लाख ६१ हजार १२५ रुपैयाँ पार्टीको केन्द्रीय सहयोग कोषमा प्रदान गरेको छ। एमाले स्थायी समिति सदस्य तथा पूर्व मुख्यमन्त्री शेरधन राईलाई धरान पार्टी कार्यालयमा आज मङ्गलवार आयोजित कार्यक्रम बिच उक्त रकमको बैङ्क चेक हस्तान्तरण गरिएको हो ।

उक्त सहयोग रकम एमाले धरान नगर कमिटीले धरान बजारमा सर्वसाधारण तथा पार्टीका वडा कमिटीहरूबाट सङ्कलन गरिएको नगर अध्यक्ष हर्कजंग एभेङले जानकारी दिए । एमाले केन्द्रीय समितिले भूकम्प पीडितहरूका लागि पार्टीले १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो ।

सोही अनुसार पार्टी निर्देशन अनुसार धरानमा सहयोग रकम सङ्कलन गर्न पार्टी नगर उपाध्यक्ष पारस काङमाङ राईको संयोजकत्वमा ९ सदस्यि भूकम्प पीडित राहत सहयोग सङ्कलन समिति गठन भएको अध्यक्ष एभेङले जानकारी दिए ।

उक्त अवसरमा स्थायी समिति सदस्य शेरधन राईले नेकपा एमाले जनताको दुःख, पीडा, समस्या र सङ्कटमा सधैँ साथ रहेको बताउँदै भूकम्प पीडितहरूका लागि सहयोग अभियान सञ्चालन गरेको बताए ।

उनले भने ‘भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनता अहिले घरबार विहीन, भोकभोकै छन् त्यहाँ सरकारको उपस्थिति छैन, नेकपा एमालेको सहयोग अभियानबाट जनताले राहत पाइरहेका छन् ।’

पार्टीको अभियानका लागि धरान नगर कमिटीले सहयोग रकम जुटाएर उदाहरणीय कार्य गरेकोमा उनले धरान नगर कमिटीलाई धन्यवाद दिए । रकम हस्तान्तरण कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा कोशी प्रदेश सरकारका पूर्व मन्त्री जगदिशप्रसाद कुसियत, पूर्व प्रतिनिधि सभा सदस्य जयकुमार राई एवं पार्टीका प्रदेश समिति, जिल्ला र नगर समितिका पदाधिकारीहरू उपस्थित थिए ।

UML-sahayog-2