धरान : राजश्व रकम हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत बबरमहल काठमाण्डौको फैसलाले दण्ड, सजाय तोकिएका फरार ५ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरिएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार उनीहरूलाई मोरङ जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरिएको हो । मोरङ जिल्ला प्रहरी कार्यालयको टोलले पक्राउ गरेका व्यक्तिहरू विशेष अदालतको २०५९ चैत ८ गतेको फैसलाबाट दोषी साबित भई दण्ड सजाय तोकिएकाहरू हुन ।

पक्राउ पर्नेहरूमा ७ वर्ष ११ महिना २३ दिन कैद र ४ करोड ३४ लाख ५ हजार ५ सय ९४ रुपैयाँ जरिवाना तोकिएका फरार विराटनगर–३ का मणिराज दाहाल छन् ।

यस्तै ६ वर्ष कैद र १ करोड १ लाख ६५ हजार ८ सय १२ रुपैयाँ जरिवाना तोकिएका कुमार बहादुर कटुवाल छन् । ९ वर्ष कैद र २८ करोड १५ लाख ९३ हजार ८ सय ८४ रुपैयाँ जरिवाना तोकिएका टिकाराम अधिकारी छन् ।

यस्तै ८ वर्ष ६ महिना कैद र २२ करोड ४५ लाख २७ हजार ६ सय ७६ रुपैयाँ जरिवाना तोकिई फरार रहेका देवराज नेपाल छन् । साथै ८ वर्ष कैद र १२ करोड ३५ लाख २९ हजार ३ सय ४२ रुपैयाँ जरिवाना तोकिएका विराटनगर-४ का नयराज नेपाल छन् ।

फरार व्यक्तिहरूलाई खोजतलास गर्दा प्रहरीले गाउँघरमा नै लुकिछिपी बसेको पाएपछि पक्राउ गरेको बताइएको छ । उनीहरूलाई मोरङ जिल्ला अदालतमा उपस्थित गराइएकोमा तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि जिल्ला कारागार मोरङ पठाइएको प्रहरीले जनाएको छ ।