धरान : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सङ्कल्प यात्रा १८ औँ दिनमा पाँचथरको र भारतको सिक्किमको सीमास्थित चिवा भञ्ज्याङ पुगेर राष्ट्रिय झण्डोत्तलन गरी पुरा भएको छ । आइतबार दिउँसो सवा १२ बजे चिवा भञ्ज्याङमा नेपालको राष्ट्रिय झण्डोत्तोलन गरिएको हो ।

मङ्सिर १४ देखि सुरु भएको झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा समापनको अवसरमा अध्यक्ष ओलीले झण्डोत्तलनसँगै शिलालेखको अनावरण पनि गरे ।

झण्डोत्तोलनको अवसरमा अध्यक्ष ओलीले राजनीतिक हिसाबले जनतामा निराशा फैलाइएको अवधिमा यात्राले जनतामा उत्साह फैलिएको विश्वास व्यक्त गरे । अन्य पार्टीमा समेत अभियानले प्रभाव पारेको ओलीले बताए ।

विभिन्न ठाउँका विशेषता, परिचय, समस्यालगायतका विषय ध्यानाकर्षण, मागपत्र ज्ञापन पत्रद्वारा नागरिकबाट बुझ्ने मौका पाएको बताउँदै ओलीले वैचारिक र जानकारीका हिसाबले पार्टीलाई यात्राले मजबुत बनाएको, कार्य योजना प्राप्त भएको बताए ।