विराटनगर : कोशी प्रदेश सरकारले वैदेशिक रोजगारीमा गएकाहरूको परिवारका १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचारको व्यवस्था गर्न लागेको छ ।

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा सोमवार सामाजिक विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री केदार कार्कीले उक्त जानकारी दिएका हुन् ।

बङ्गलादेश, भारत लगायतका देशबाट आएर काम गर्ने विदेशी नागरिकले नेपालमा अपराध गर्‍यो भने कारबाही हुन्छ । तर यहाँको उत्पादन बढाउने र सेवा गर्नेलाई सम्मान र सुरक्षा पनि प्रदान गरिने उनले प्रतिबद्धता जनाए ।

उनले भने, ‘नेपालबाट वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको हितका लागि प्रदेश सरकारले उनीहरूका १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गरिदिने व्यवस्था हुँदै छ ।’

विदेशमा काम गर्नेलाई पनि देश हेरेर विभेद हुने परम्परा रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले सरकारी कार्यालयका सबै कर्मचारीलाई सबैसँग आदरपूर्ण र समान व्यवहार गर्न निर्देशन पनि दिए ।

श्रमिकसँग गर्ने व्यवहारमा समानता नआउन्जेल परिवर्तन नहुने बताउँदै उनले सरकारमा बस्नेले सबैसँगको व्यवहार र बोलीमा एकरूपता ल्याउनु पर्छ, त्यसमा सरकार प्रतिबद्ध रहेको स्मरण गराए ।

उनले भने ‘श्रमिकको सम्मान छैन त्यसैले हामी पछाडि छौँ, यहाँ कामका आधारमा प्रयोग गर्ने भाषा र व्यवहार फरक छ, ठुलो विभेद कायम नै छ ।’ श्रमिकलाई गर्ने व्यवहार र बोलीमा घरबाटै सुधार गर्नुपर्ने मुख्यमन्त्रीले बताए ।

विदेशमा काम गर्ने र यहाँ काम गर्नेमा पनि समान व्यवहार नरहेको उनको भनाइ थियो । ‘कसैलाई काम गरेको आधारमा हेप्न पाइँदैन । मुख्यमन्त्री कार्कीले भने, खुल्ला अर्थतन्त्रमा जुन देशमा जे हुन्छ त्यही बिक्री हुन्छ । श्रम बजारमा आफ्नो हैसियत अनुसार श्रम बेचेर आर्जन गर्ने खुल्ला श्रम बजार भएको स्मरण गराए ।

सामाजिक विकास मन्त्रालयका सचिव वासुदेव दाहालको अध्यक्षतामा भएको कार्यक्रममा उपसचिव कृष्ण प्रसाद पोखरेलले कोशी प्रदेशमा श्रम, रोजगार र आप्रवासन सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनले सुरक्षित आप्रवासनका लागि यस प्रदेशका १४ वटै जिल्लामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको जानकारी दिए । उनका अनुसार सोलुखुम्बु, सङ्खुवासभा र ताप्लेजुङमा प्रदेश सरकारले स्रोत केन्द्र स्थापना गर्ने तयारी छ ।

साथै ओखलढुङ्गा, धनकुटा र तेह्रथुममा पालिकाहरूले स्थापना गरेको र बाँकी जिल्लामा सामी परियोजनाले सञ्चालन गरेर सेवा प्रवाह गरिरहेको पोखरेलले बताए ।