इटहरी : नेपाली काँग्रेस जिल्ला कार्यसमिति सुनसरीले पुस ५ गते बिहीबार अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । वरिष्ठ नेता डाक्टर शेखर कोइरालाको प्रमुख आतीथ्यतामा कार्यकर्ता सँग संवाद र छलफल कार्यक्रम गर्न लागेको हो ।

पछिल्लो समयको राजनैतिक घटनाक्रम र नेपाली काँग्रेसको आगामी रणनीतिको विषयमा कार्यकर्ताले धारणा राख्ने भएका छन् । पुस १२ गतेदेखि हुने केन्द्रीय समिति बैठकको पूर्व सन्ध्यामा डा. कोइरालाले सुनसरीका कार्यकर्ता सँग भेटघाट गर्ने भएका छन् । विभिन्न जिल्ला तथा प्रदेश सम्मेलनमा सहभागी भइरहेका डा. कोइरालाले काँग्रेस भित्रको आन्तरिक एकता र लोकतन्त्रको पक्षमा धारणा राख्दै आएका छन् ।

पार्टीको नियमित कार्यक्रममै सिलसिलामा सुनसरी काँग्रेसले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको जिल्ला सभापति  केदार भण्डारीले बताए । पार्टी नेतृत्वलाई कार्यकर्ताको गुनासो सुनाउने र लोकतन्त्रलाई सुदृढ बनाउन नेतृत्वलाई खबरदारी गर्ने हिसाबमा कार्यक्रम तय गरिएको उनको भनाइ छ ।

दिउँसो ११ बजे जिल्ला पार्टी कार्यालय इनरुवामा हुने कार्यक्रममा सुनसरी बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी लगायत जिल्ला, क्षेत्र र नगर समितिका सदस्यहरूको उपस्थिति हुने उनले जानकारी दिए । विभिन्न भातृ तथा सुवेच्छुक संस्थाका प्रतिनिधिलाई समेत निमन्त्रणा गरिएको भण्डारीले बताए ।