धरान : अर्थमन्त्री डा.प्रकाश शरण महतले नेपाली काँग्रेसमा पार्टीले सरकारमा सहभागी हुन गरेको गठबन्धन किन गर्नुपर्‍यो भनी उठ्ने गरेको प्रश्न स्वाभाविक लागे पनि यो अहिलेको बाध्यता भएको बताएका छन् ।

उनले भने ‘कतिपय साथीहरूलाई गठबन्धन किन गर्नुपर्‍यो भन्ने लागेको होला, पार्टीको कोणबाट हेर्दा ठिकैजस्तो लाग्छ, तर, कुनै पनि दलसँग बहुमत नभएको अवस्थामा गठबन्धन नगरी सरकार बन्दैन ।’ कुनै पनि दलको बहुमत नभएकाले गठबन्धन सरकार बनाउनु बाध्यता भएको उनले स्पष्ट गरे ।

मङ्गलवार आयोजित काँग्रेसको मकवानपुर प्रथम जिल्ला सम्मेलनमा मन्त्री डा. महतले भने ‘मिश्रित निर्वाचन प्रणालीले गर्दा एउटा दलको बहुमत आउन कठिन छ ।’

बहुमत ल्याएर काँग्रेसको एकल सरकार निर्माण गर्न एकता, सद्भाव र जिम्मेवारीप्रति उच्च समर्पण आवश्यक रहेको उनको भनाइ छ । मन्त्री महतले भने ‘नेपाली काँग्रेस पार्टीले गरेको काम र भोलि गरिने कामप्रति सबैले गर्व गर्नुपर्छ, ।’

काँग्रेस भित्रको मतान्तरतर्फ सङ्केत गर्दै उनले भने ‘काँग्रेस एउटा परिवारजस्तो पार्टी हो । लामो समयदेखि दुःखसुखमा सँगै छौँ, लामो उठबस भएपछि १९-२० हुनु स्वाभाविक हो । ठुलो पार्टी भएको हुनाले सबैले एकै पटक जिम्मेवारी पाउन कठिन हुन्छ । मान्छे खोजीखोजी ल्याएर राख्ने नयाँ पार्टी जस्तो काँग्रेस होइन ।’

आम निर्वाचनमा पार्टीको पक्षमा एकत्रित भएर उभिएमा काँग्रेसले बहुमत ल्याउन सक्ने मन्त्री महतको भनाई छ । उनले भने ‘हाम्रो कतिपय उठबसमा देखिएका समस्याले तिक्तता विकसित हुन्छ । यो तिक्तता आम निर्वाचनमा अभिव्यक्त हुन थाल्यो भने पार्टीका लागि दुर्भाग्य हुन्छ ।’

उनले काङ्ग्रेसभित्र समस्या भएको त्यसलाई सम्बोधन गर्ने बित्तिकै पार्टीले बहुमत ल्याउन सक्ने बताए । नयाँ कुरा लिएर नयाँ पार्टी आउन सक्छन्, तर कुरा गर्न सजिलो हुन्छ, काम गर्न गाह्रो हुने बताउँदै मन्त्री महतले भने ‘कुराको पछाडि होइन, कामको आधारमा पार्टीहरूको मूल्याङ्कन हुनुपर्छ ।’

उनले वीपीको भनाई उद्धृत गर्दै भने ‘बिपी कोइरालाले भन्नुहुन्थ्यो, ‘सत्यको मुख बन्द भयो भने झुटोको थुतुनो चल्छ ।’ सत्य बुझेर पनि हामी झुटोको अगाडि चुप लाग्यौ भने, झुटोको थुतुनो चलेको चलै हुन्छ । आम जनताले त्यही झुटोलाई सत्य ठान्छन् । झुटोलाई चिर्न सत्यको मुख बन्द हुनुहुन्न ।’

मन्त्री डा. महतले काँग्रेसको सबैभन्दा ठुलो कमजोरी भनेको प्रचार भएको बताउँदै काँग्रेसहरू आफ्ना कुरा नराख्ने  अरूको कुरा सुन्ने, त्यसबाट प्रभावित हुने र आफैलाई गाली गर्ने प्रवृत्ति खतरा भएको बताए । उनले भने ‘झुटोको थुतुनो सुनेर हामी प्रभावित हुनुभएन ।’

काङ्ग्रेसबाट सरकारमा सहभागी भएर काम गरिरहे पनि देशमा धेरै समस्याको समाधान एकै पटक हुँदैन । समाधानका लागि इमान्दार प्रयास गरिरहेको उनले बताए । उनले आफू अर्थमन्त्री बनेका बेला अर्थतन्त्र अत्यन्त अप्ठ्यारोमा रहेको बताउँदै अघिल्लो सरकारले खडा गरेका समस्या थपिएको उल्लेख गरे ।

मन्त्री महतले भने ‘ठूल-ठूलो बिल्डिङ बन्ने घोषणा भए, बिल्डिङ बनुन्जेल रोजगारी पाइन्छ, सिमेन्ट, छठ बिक्री हुन्छ, केही आर्थिक गतिविधि पनि बढ्छ । बिल्डिङ बनिसकेपछि उत्पादन दिन छोड्छ ।’

उनले कारोनाकालमा धेरै ऋण जग्गा र सेयर बजारमा लगानी भएको बताउँदै जग्गा र सेयरको भाउ बढिहाल्छ भनेर भएको लगानी सधैँ भाउ बढ्ने अवस्था नरहँदा त्यस बेला ऋणहरू अहिले समस्यामा रहेका बताए ।