धरान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज सुनसरी आउँदै छन् । पूर्वका ३ स्थानमा कार्यक्रम  उद्घाटनका लागि उनी हिजो विराटनगर आएका थिए ।

प्रधानमन्त्री प्रचण्डले आज बिहान सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ मा विद्युत् प्राधिकरणद्वारा निर्मित ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको उद्घाटन गर्ने छन् । विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सबस्टेशन निर्माण गरिएको हो ।

ग्याँस इन्सुलेटेड प्रणालीमा आधारित स्वचालित उक्त सवस्टेशन ढल्केबर पछिको दोस्रो ठुलो सबस्टेशन भएको प्राधिकरणले जनाएको छ । इनरुवा सबस्टेशन सञ्चालन भएपछि मोरङ-सुनसरी औद्योगिक कोरिडोरका उद्योगहरूलाई थप विद्युत् दिन र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन महत्त्वपूर्ण मानिएको छ।

सबस्टेशन निर्माणबाट पूर्व-पश्चिम विद्युत् आपूर्ति व्यवस्थाका साथै नेपाली विद्युत् भारत निकासी गर्न सहायक हुने बताइएको छ । सबस्टेशनको स्थापनाले थप विद्युत् प्रवाह क्षेत्रीय विद्युत् व्यापारको हब बनाउने छ । प्रधानमन्त्रीको टोलीमा ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि सहभागी छन् ।

प्रधानमन्त्री प्रचण्डबाट आज मोरङ व्यापार सङ्घद्वारा विराटनगरमा आयोजित ट्रेड एक्स्पो-२०२३ व्यापार मेलाको उद्घाटन गर्ने कार्यक्रम छ । ट्रेड एक्स्पो-२०२३ व्यापार मेलाको आयोजनाबाट आर्थिक शिथिलतालाई चलायमान बनाउने विश्वास गरिएको छ । विराटनगर-२ शङ्करपुरमा लाग्ने एक्स्पोमा कृषिजन्य उत्पादन, पर्यटन, हस्तकला, अटोमोबाइल र औद्योगिक प्रदर्शनी हुनेछ ।

प्रधानमन्त्री प्रचण्ड दिउँसो मोरङको मिक्लाजुङ गाउँपालिका५ मा आयोजित जनतासँग माओवादी ३ महिने विशेष रूपान्तरणको समापन कार्यक्रममा सहभागी हुनेछन् ।