इटहरी : प्रधानमन्त्री पुष्पकमल दाहालले अबको एकडेढ वर्षभित्र देश पूर्ण विद्युतीकरण हुने बताउँदै वर्षायाममा देशभित्र खपत गरी बचत भएको विद्युत् भारतर्फ निर्यात १५ अर्ब रुपैयाँ बढी आम्दानी गर्ने अवस्थामा पुगेको दाबी गरेका छन् ।

आज बिहान इनरुवामा निर्मित विद्युत् प्राधिकरणको सबस्टेसन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अब नेपाल विद्युतीकरणको सुनौलो दिनमा प्रवेश गरेको बताए ।

प्रधानमन्त्री दाहालले सरकारको नीति, विद्युत् प्राधिकरणको योजना र नेपाली जनताको साथ र सहयोगले नेपालको ऊर्जा क्षेत्रले फड्को मारेको बताए । घरमा बत्ती बाल्न मात्र नभएर समृद्धि र देशलाई नै उज्यालो बनाउन विद्युत् उत्पादन, प्रसारण र वितरण गर्ने योजनाका उत्साहजनक कामहरू भइरहेको उनले बताए ।उनले भने, ‘वर्षायाममा देशभित्र खपत गरी बचत विद्युत् भारतर्फ निर्यात गरी १५ अर्ब रुपैयाँभन्दा बढी आम्दानी हुनु खुसीको कुरा हो ।’ उनले आफ्नो नेतृत्वको सरकारले जनतालाई अँध्यारो लोडसेडिङको कहालीलाग्दो युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको बताए ।

प्रधानमन्त्री दहालले ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्ने सबस्टेसनको उद्घाटन गरेका हुन ।  सब स्टेसन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् प्रवाहका अतिरिक्त स्थानीय रूपमा आपूर्ति समेत गरिने प्राधिकरणले जनाएको छ ।

सबस्टेसनबाट भारतसँगको विद्युत् व्यापारका लागि इनरुवा-पूर्णिया ४०० केभी अन्तर्देशीय र नेपाल, भारत तथा बङ्गलादेशबिचको व्यापारका लागि इनरुवा-अनारमनी ४०० केभी प्रसारण लाइन प्रस्ताव गरिएको छ ।

उद्घाटनको अवसरमा प्रधानमन्त्री दहालले पूर्व-पश्चिम विद्युत् आपूर्ति गर्न र भारतर्फ थप विद्युत् प्रवाह तथा क्षेत्रीय विद्युत् व्यापारका लागि इनरुवा सब स्टेसन अर्को ठुलो हब बनेको बताए ।

Samudghatan Samaroh

Samudghatan Samaroh 2