विराटनगर : प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन संविधानको कार्यान्वयन जरुरी भएको र त्यसका लागि पत्रकारको भूमिका अपरिहार्य भएको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश कार्य समितिसँगको छलफलमा सोमबार मुख्यमन्त्री कार्कीले उक्त कुरा बताएका हुन । प्रदेशका जिल्लाहरूमा पत्रकार महासङ्घको भौतिक संरचनाको विकासको विषमा छलफल गर्न महासङ्घका कार्यसमिति मुख्यमन्त्री निवास गएको थियो ।

मुख्यमन्त्री कार्कीले भेटघाटमा भने ‘पत्रकार महासङ्घले पनि प्रदेशको अधिकार प्राप्तिका लागि बहस चलाउनु पर्‍यो ।’ प्रदेश सरकारलाई कानुन बनाएर अधिकार हस्तान्तरण नगरिरहेको सन्दर्भ अहिले बहसको विषय बन्न सक्ने उनले बताए ।

उनले भने ‘कानुन, नियम बनिसकेको प्रहरी समायोजन गरिएको छैन’ किन ? सरकार र सङ्घीय सांसदलाई पत्रकारहरूले प्रश्न गर्नुपर्‍यो भन्ने मुख्यमन्त्रीका आग्रह थियो । उनले प्रश्न गरे ‘प्रदेशलाई अधिकार सम्पन्न बनाउन कानुन नबनाउने तर प्रदेशप्रति सार्वजनिक अभिव्यक्ति दिएर प्रश्न उठाउने सांसद माथि सञ्चारकर्मीले किन प्रश्न उठाइरहेको छैन ?’