धरान : धरान उपमहानगरपालिका नगर प्रमुखको कार्यकक्षमा हटाइएको राष्ट्रप्रमुख राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्रीको तस्बिर पुनः राख्न ५ राजनीतिक दलका युवा भातृ सङ्गठनहरूले मेयर हर्क साम्पाङलाई ३ दिने अल्टिमेटम दिएका छन् ।

गत पुस ११ गते कार्यकक्षबाट राष्ट्रप्रमुख र सरकार प्रमुखको तस्बिर मेयर साम्पाङले हटाएका थिए । पुस १२ गते ५ राजनैतिक दलहरूले प्रेस वक्तव्य मार्फत मेयर सम्पाङलाई तस्बिर यथास्थानमा राख्न माग गरेका थिए ।

पुस १३ गते तस्बिर हटाएको विषयमा कार्यपालिका बैठकमा वडाध्यक्ष, कार्यपालिका सदस्यहरूले यथास्थानमा तस्बिर नराखी बैठक अघि नबढ्ने अडान राखेपछि बैठक स्थगित गर्दै मेयर साम्पाङ बाहिरिएपछि बैठक हुन सकेको थिएन ।

आज मङ्गलवार ५ राजनीतिक दलका भातृ सङ्गठनका युवा र महिलाहरू तस्बिर समेत लिएर 'मर्यादामा सबैले बस्नुपर्छ', 'संविधान सबैले मान्नु पर्छ', 'राष्ट्रप्रमुख र सरकार प्रमुखको तस्बिरको सम्मान गर' जस्ता नाराबाजी सहित जुलुस प्रदर्शन गर्दै नगरपालिका घेराउ गर्न पुगेका थिए ।

यसअघि उपमहानगरपालिका प्रवेशद्वार बन्द गरी व्यापक प्रहरी परिचालन गरिएको थियो । जुलुस नगरपालिका प्रवेशद्वारमा पुगेर नाराबाजी गर्न थालेपछि स्थिति तनावपूर्ण बन्ने सम्भावना बढेका थियो । आकस्मिक रूपमा सुरक्षा बल चाहिएमा प्रशासनले थप सुरक्षाकर्मी छाता चौक पुरानो अस्पतालमा जगेडा राखेको थियो ।

तर इलाका प्रहरी कार्यालयका डिएसपी नवराज मल्लले स्थितिलाई तनावपूर्ण बन्न दिएनन् । प्रदर्शन सहित जुलुसका रूपमा आएका राजनीतिक दलहरूका युवाहरू मध्येबाट ६ जनालाई मेयर साम्पाङसंग तस्बिर राख्न वार्तामा बस्न उनले सहमत गराए ।

वार्तामा बस्न उपमहानगरपालिका जाने प्रतिनिधिहरूमा तरुण दलका कार्यवाहक सभापति राम तामाङ र हिमाल श्रेष्ठ, राष्ट्रिय युवा सङ्घका ब्रम्हज्ञ भट्टराई, वाईसीएल अध्यक्ष दीपक घिसिङ तामाङ, समाजवादी युवा सङ्घका रिकेश विश्वकर्मा र जसपाको युवा सङ्घका रञ्जित राई थिए ।

वार्तामा मेयर साम्पाङले आफू राष्ट्रप्रमुख र सरकार प्रमुखको तस्बिर राख्न सहमत रहेको बताउँदै 'धरान डे'मा प्रधानमन्त्रीलाई प्रमुख अतिथिको रूपमा उपस्थित गराउनु पर्ने शर्त राखे । राजनैतिक दलहरूका युवा प्रतिनिधिहरूले मेयरको प्रस्तावमा सहमति जनाउँदै प्रधानमन्त्रीलाई बोलाउन सकिने बताए ।

सोही सहमतिमा तस्बिर यथास्थानमा राख्ने गरी मेयरले सहमति पत्रको मस्यौदा तयार गरेका थिए । उक्त मस्यौदामा प्रधानमन्त्री उपस्थित गराउने जिम्मेवारी पार्टीका भातृ सङ्गठनहरूले लिने कुरा उल्लेख थियो । उक्त मस्यौदा चित्त बुझ्दो नभएकोले युवा प्रतिनिधिहरूले अर्को मस्यौदा तयार गरे ।

उक्त मस्यौदामा राजनैतिक दलको तर्फबाट 'धरान डे'को उद्घाटनमा ‘सम्मानित प्रधानमन्त्रीलाई प्रमुख अतिथिको रूपमा बोलाउन नगर प्रमुखले दलहरूलाई पहलकदमी गरिदिन आग्रह गर्ने सर्वसम्मत निर्णय गर्ने र निमन्त्रणा गर्न प्रधानमन्त्री कार्यालय जाने दलहरू तयार रहेको कुरा उल्लेख थियो ।

उक्त मस्यौदालाई मेयर साम्पाङले स्वीकार नगरेपछि यसअघि भएको सहमति भङ्ग भयो । मेयर साम्पाङले सहमति गर्न नमाने पछि युवा प्रतिनिधिहरू ३ दिनको अल्टिमेटम दिँदै मेयरको कार्यकक्षबाट बाहिरिए । उनीहरू नगर प्रमुखको कार्यकक्षमा पुनः तस्बिर नराखे उत्पन्न हुनसक्ने परिस्थितिको जिम्मेदार मेयर हर्क साम्पाङ हुने जनाउ दिदैं बाहिरिएका हुन ।

student-leader-dharanstudent-leader-2