धरान : मेयर हर्क साम्पाङले नगर प्रमुखको कार्यकक्षबाट राष्ट्र प्रमुख र कार्यकारी प्रमुखको तस्बिर हटाएको काण्डले आज शुकबार बसेको कार्यपालिका बैठकमा बबाल मच्चिएपछि मेयर साम्पाङ 'बैठक स्थगित' भन्दै हिँडे।

मेयरले संविधानको बर्खिलाप कार्य गरेको विरोधमा उपमेयर आइन्द्रबिक्रम बेघाले कार्यपालिकाको आजको बैठक बहिस्कार गरे । उनका स्वकीय सचिव खेम रनपहेलीले 'उपमेयरले बैठक बहिस्कार गरेको' पुष्टी गरेका हुन।

रनपहेलीका अनुसार ‘कार्यपालिका बैठक उपमेयर आइन्द्रबिक्रम बेघाले बहिष्कार गर्नु भएको हो ।’ नेपालको संविधान २०७२ को मर्म र भावना अनुसार संविधानले प्रदान गरेको सीमा र घेरा भित्री नरही मेयरले संविधानको बर्खिलाप कार्य गरेका कारण उपमेयरले बैठक बहिष्कार गरेको उनले बताए ।

बैठकमा कार्यपालिका सदस्य तथा वडा अध्यक्षहरू दिनेश गजमेर, मुरारी भट्टराई, भूपेन्द्र भट्टराई, अनुप देवान, सिर्जना नेपालले राष्ट्र प्रमुख राष्ट्रपति रामचन्द्र पौडेल र देशको कार्यकारी प्रमुख प्रधानमन्त्री पुष्पकमल दाहालको फोटो पहिलेकै ठाउँमा राखिएपछि मात्र बैठकको एजेन्डा अघि बढ्ने अडान लिए ।

उनीहरूले सबैधानिक व्यवस्था अनुसार राष्ट्र प्रमुख र कार्यकारी प्रमुखको तस्बिर व्यक्ति होइन संस्थाको भएकाले राख्नु पर्नेमा जोड दिए । मेयर साम्पाङ वडाहरूको औपचारिक कार्यक्रममा उपस्थित नभएको र नगरवासीको समस्या थाहा नपाएको भन्दै मेयरको आलोचना गरे ।

यसअघि मेयर साम्पाङले घुमाउरो पारामा प्रधानमन्त्रीलाई बोलाउने माईन्युट गर्न भनेका थिए । त्यसको जवाफमा कार्यपालिका सदस्यहरूले मेयर सम्पाङलाई भने ‘केटाकेटी जस्तो कुरा नगर्नुस् ।’ त्यसलगत्तै 'बैठक स्थगित' भन्दै मेयर साम्पाङ बाहिरिए ।

मेयर साम्पाङले धरान उत्सवमा निमन्त्रणा गर्दै पत्र लेखेकामा प्रधानमन्त्री कार्यालयबाट व्यस्तताका कारण उपस्थित हुन नसक्ने जानकारी गराएको बुझिएको छ । बैठकमा उनले भने ‘मलाई राष्ट्र प्रमुखहरू हो भन्ने फिल भएन फोटो हटाएँ ।’

फोटो हटाएकै भरमा कानुनी सजाय हुन्छ भने कानुन बमोजिमको सजाय भोग्नु तयार भएको बताउँदै मेयर साम्पाङले भने ‘पदबाट मुक्त गरीपनि केही हुन्न, म हट्न तयार छु ।’ आफ्नो स्वाभिमान तलमाथि हुन नदिने उनको भनाई थियो।

उनले उपमेयरलाई ईगित गर्दै भने ‘केन्द्रलाई धक्का दिन सक्ने मान्छे भएन ।’ त्यही भएर मौन आन्दोलन सुरु गरेको बताए । धरानमा विगत २० वर्ष देखिको एयरपोर्ट बनेन, खानेपानीको समस्या समाधान भएन, सडकको सहजता नभएको बताए । उनले भने ‘माग सम्बोधन नभए सम्म कसैलाई अभिभावक मान्दिन ।’