इटहरी : सङ्घीयता प्रति फरक मत राख्दै आएको राप्रपाले कोशी प्रदेशसभाको नेतृत्व गर्ने भएको छ । राप्रपाका अम्बर बहादुर बिष्टलाई सम्पूर्ण दलले समर्थन गरेपछि सङ्घीयता विरोधी दलको हातमा प्रदेश सभाको नेतृत्व पुगेको हो ।

तत्कालीन सभामुख बाबुराम गौतमले साउन १६ गते राजीनामा दिएपछि ६ महिना कोशी प्रदेशसभा सभामुख विहीन अवस्था थियो । डेडलकको अवस्थामा पुगेको संसद्को गतिशीलता बढाउन सभामुखको भूमिका प्रभावकारी हुने अनुमान गरिएको छ ।

सभामुख चयन भएसँगै मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा दलहरूबिच विवाद र बैमनुष्य भन्दा पनि सहकार्य अनि एकता धेरै रहेको बताए ।

प्रदेश सरकार दलीय एकता, आपसी सहकार्य अनि जनचाहना अनुरूप अघि बढ्न सक्छन् भन्ने उदाहरण दिन चाहेको उनको भनाइ छ।

यस अवधिमा प्रदेश सभाबाट स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, प्रदेश निजामती सेवा सम्बन्धी ऐन, कोशी प्रदेश सामयिक राजश्व सङ्कलन सम्बन्धी ऐन प्रमाणीकरण भइसकेका छन् ।