धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कार्यकारिणी समितिको आज बुधवार बोलाइएको बैठक बस्न नसकेपछि चिकित्सकहरूले कार्डियोलोजी विभागमा तालाबन्दी गरेका छन् ।

बढुवा प्रक्रिया सुरु गर्न माग गर्दै आएका चिकित्सकहरूले बैठकले प्रक्रिया अघि बढाउने बारेमा निर्णय गर्ने गरेको आशा बैठक नबस्दा धोका भएको भन्दै तालाबन्दी गरेका हुन ।

बैठक वीपीका कायम कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीले बोलाएका थिए । बैठक बस्नु अघि उनले शिक्षाध्यक्ष प्राडा. सञ्जीव शर्मालाई निमित्त उपकुलपतिको हैसियतमा बैठक बसेर निर्णय गर्न पत्र लेखी आफू अनुपस्थिति भएकाले बैठक बस्न नसकेको हो ।

कामु उपकुलपछि प्राडा.कार्की पारिवारिक समस्याका कारण बिदामा बसेका छन् । उनी बिदामा बसेपछि कार्यकारिणी समितिको बैठक अनिश्चित भएको छ ।

प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा. सञ्जीव शर्माले निमित्तको हैसियतमा ऐन, कानुन, नबाझिने गरी उपयुक्त निर्णय गर्नु भनेर पत्र पठाएर बिदा बसेको जानकारी दिदैं भने ‘पदाधिकारी तथा कानुनी परामर्श लिँदा निमित्त भिसीको हैसियतमा बैठकमा अध्यक्षता गरी निर्णय गर्न कानुन सम्मत हुँदैन ।’

त्यसैले बुधवार बोलाइएको बैठक बसेन । बैठक नबसेपछि शिक्षक कर्मचारीले कामु उपकुलपति प्राडा. कार्कीले प्रयोग गर्दै आएको कार्डियोलोजी विभागमा शिक्षक कल्याण समाज, कर्मचारी कल्याण समाज र विद्यार्थी कल्याण समाजले तालाबन्दी गरेका हुन ।

शिक्षक कल्याण समाजका अध्यक्ष डा. शेराज अहमद खानले कार्यकारिणी समिति बैठक बसेर अन्तरवार्ताको तालिका ननिकाल्ने हो भने राजीनामा दिन माग रहेको बताए ।

कर्मचारी कल्याणकी अध्यक्ष कविता ढकालले नीति नियम मिले पनि उपकुलपतिको नियतले बढुवा प्रक्रिया रोकिएको आरोप लगाइन् । प्रतिष्ठानका रजिष्ट्रार डा. सूर्य सङ्ग्रौलाले शिक्षक कर्मचारीको पदोन्नतिमा लागिपरेको बताउँदै भने, ‘लोकसेवालाई कन्भिन्स गरेर आएका छौँ ।’ लोकसेवाले लिखित नदिएको बताए । उनले थपे ‘लोकसेवाले पुरानै नियमावली अनुसार पदोन्नतिको प्रक्रिया अघि बढाउन मौखिक अनुमति दिएको छ ।’