झापा : हुने खाने र कर्मचारी वर्गले गरिब विद्यार्थीलाई राज्यले दिने छात्रवृत्ति सुविधा हत्याउन सामुदायिक विद्यालयमा भर्ना गरेको देखाएर अङ्ग्रेजी माध्यम पढाउने विभेदकारी शिक्षा सुरु भएको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बताएका छन् ।
उनले भने, ‘सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर नभएको भन्दै निजी विद्यालयमा छोराछोरी पढाउने कर्मचारी वर्गले किन सामुदायिक विद्यालयमा पढाउन थालेका छन् ?’ प्रश्न गर्दै निजीमा पढेका विद्यार्थीले उच्च शिक्षाका लागि सरकारले दिने छात्रवृत्ति नपाएपछि सामुदायिक विद्यालयमा नै अङ्ग्रेजी माध्यममा पढाउन लगाएका छन् ।
उनले भने, ‘तर त्यो अङ्ग्रेजी माध्यममा गरिबका छोराछोरीले भर्ना पाउँदैनन्, उनीहरूका लागि त्यही विद्यालयमा नेपाली माध्यममा पढाएर विभेद गरिरहेको छ ।’
बिर्तामोड-३ स्थित महेन्द्र रत्न माविको ६६ अौ वार्षिकोत्सवमा नेपाली र अङ्ग्रेजी माध्यमको नाममा हुँदा खाने र हुने खाने वर्गबिचको विभेदकारी शिक्षा दिने कार्य तत्काल रोक्नुपर्ने उनले बताए । मुख्यमन्त्रीले भने, ‘अहिले लोकतान्त्रिक व्यवस्थामा कसैले कसैलाई विभेद गर्ने छुट कानुनले दिएको छैन ।’
धनी र गरिब भनेर दिने शिक्षाले गरिब विद्यार्थीमा सम्मानको भावना विकास हुन्छ कि विद्रोहको ? भनी प्रश्न गर्दै उनले भने, ‘विद्यालयले दिइरहेको विभेदकारी शिक्षाले हुँदा खाने र हुने खाने वर्गबिच खाडल बनाउँदै छ,।’ त्यस्ता विद्यालयलाई प्रदेश सकारले सहयोग नगर्ने घोषणा गरे ।
पैसा अभावमा अब कोही गरिबका छोराछोरीलाई उच्च शिक्षा हासिल गर्नबाट वञ्चित हुनु नदिन प्रदेश सरकारले बजेट विनियोजन गरेको मुख्यमन्त्री कार्कीले बताए । उनले भने, ‘डाक्टर बन्न चाहने गरिबका छोराछोरीको पैसा अभावमा पढाइ रोकिँदैन ।’ चिकित्सा, पशु, कृषि, कानुन लगायतका विषयमा गरिबका छोराछोरीलाई छात्रवृत्तिको व्यवस्था गरेको स्पष्ट गरे ।
ज्ञान बाँड्ने विद्यालय अहिले सर्टिफिकेट बाँड्ने कार्यालय भएको बताउँदै उनले सामुदायिक विद्यालयहरूको नेपाली माध्यममा भइरहेको पठन पाठन सर्टिफिकेट बाँड्ने कार्यालय मात्रै भएको छ ।
एउटै विद्यालयमा अङ्ग्रेजी माध्यमको शिक्षा गुणस्तरीय छ तर नेपाली माध्यममा शैक्षिक वातावरण नभएको मुख्यमन्त्रीले प्रश्न गरे, ‘आखिर किन यस्तो विभेद ?’ नेपाली माध्यमका सामुदायिक विद्यालयहरू हुने खाने वर्गका बुहारी, स्वास्नी, छोरीहरूले जागिर खाने थलोको रूपमा समेत विकास भइरहेको प्रति मुख्यमन्त्री कार्कीले चिन्ता व्यक्त गरे ।

 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
                 
                 
                 
                 
         
        















 
         
        

















































 
         
         
        