धरान : ओखुलढुंगामा आज मङ्गलवार नेपाली काँग्रेस जिल्ला समितिद्वारा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई कालो झण्डा देखाउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मुख्यमन्त्री कार्की, पूर्व मुख्यमन्त्री उद्धव थापाको विरोधमा कालो झण्डा देखाउँदै विरोध प्रदर्शन गर्नेहरूलाई ओखलढुङ्गा सदरमुकाम स्थित गोरुमारे भञ्याङबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा प्रदेश न. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिका पहिचानवादी कार्यकर्ताहरू भएको समितिले जनाएको छ ।

समितिले जनाए अनुसार पक्राउ पर्नेहरूमा किरात राई यायोक्खा केन्द्रीय महासचिव भीमराज राई, जिल्ला अध्यक्ष तथा सङ्घर्ष समितिका संयोजक थगेन्द्र राई, पूर्व जिल्ला अध्यक्ष दीपेन्द्र रुम्दाली राई, किराँती राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय उपमहासचिव रेखराज राई, चमर राई, दुर्गा राई लगायत छन् ।

मुख्यमन्त्री कार्की नेपाली काँग्रेसद्वारा ओखलढुङ्गामा निर्मित बिपी स्मृत भवन उद्घाटन तथा नेपाली काँग्रेस ओखलढुङ्गा जिल्ला सम्मेलनमा सहभागी हुन काँग्रेस नेताहरू सहित सहभागी हुन त्यहाँ पुगेका थिए ।

सङ्घर्ष समितिले पक्राउ लगत्तै विज्ञप्ति प्रकाशित गरी शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरी ज्यादती भएको आरोप लगाउँदै ‘पहिचानवादी योद्धाहरूलाई विना सर्त रिहाइ नगरे भोलि बुधवार देखि बलबहादु राई मार्ग र मध्य-पहाडी मार्ग अन्तर्गतको ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ र उदयपुर ४ जिल्लामा सडक अनिश्चितकालका लागि बन्द गरिने चेतावनी दिएको छ ।