धरान : हङकङको याउचि मोङ डिस्ट्रिकबाट निर्वाचित एक नेपाली महिला सहित चिनियाँ मूलका काउन्सिलरहरुलाई द नेप्लिज एसोसिएसनले सम्मानित गरेको छ।

यसै महिना हङकङमा दर्ता भएको नेपालीहरूको साझा संस्था एसोसिएसनले बुधवार काउन्सिलरहरुलाई सम्मान गरेको हो ।

एसोसिएसनका अध्यक्ष प्रदीप थापाले हङकङका नेपाली नागरिकको पक्षमा कार्य गर्न प्रोत्साहित गर्न सम्मानित गरेको बताएका छन् । समारोहमा पुरुष काउन्सिलरलाई नेपाली ढाकाको टोपी र महिला काउन्सिलहरुलाई सल ओढाएर सम्मानित गरिएको थियो ।

उनीहरूलाई हङकङस्थित नेपाली दूतावासका महावाणिज्य दूत डा. उदय राना मगरले सम्मान प्रदान गरेका थिए । डा. रानाले हालै विद्यावारिधि गरेकोमा समारोहमा उनलाई पनि सम्मानित गरिएको थियो ।

भर्खर दर्ता भएको नेपालीहरूको साझा संस्था एसोसिएसनले पहिलो पटक राजनीतिक नेतृत्वमा रहेका चिनियाँ मूलका डिस्ट्रिक काउन्सिलर सहित नेपाली मूलका काउन्सिलरहरुलाई एकैठाउ भेला गराएर स्वागत र सम्मान गरेको हो ।

समारोहमा एसोसिएसनका अध्यक्ष थापाले भने ‘यो संस्थाको उद्देश्य सामाजिक सेवा नै रहेको छ । यो संस्था हङकङमा दर्ता भए पनि नेपालको धरान नजिकैको भेडेटार छेउको छोटीमोरङमा थाउजेन विग बुद्धको सबैभन्दा अग्लो प्रतिमा स्थापना गर्नु हो ।’

पूर्वको पर्यटकीय पूर्वाधार तयार गर्दै हङकङ र धरानको सम्बन्ध दरिलो बनाउने उद्देश्यले संस्था दर्ता गरिएको बताउँदै उनले थाउजेन विग बुद्ध आयोजनाको डिपिआर तैयार भैसकेको जानकारी दिए ।

सम्मानित हुनेहरूमा हेवुड गुवान, मिस एन उ चोर क्वान, लि का हिन, वेन्जामिन छोयी, क्रिस आइपी, एडमण्ड चुङ, क्यारिग जो, लाउ पाक के वेन्नी यङ, एलेक्स पुन, अरुणा गुरुङलगायत रहेका छन् । सोही अवसरमा डा.दिव्यादर्शन गुरुङ, क्याप्टेन रामसिंह थापालाई पनि सम्मान गरिएको थियो ।