धरान : नेपाली काँग्रेस निकट नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ धरान नगरको प्रथम अधिवेशनले कृष्णकुमार राई (भूपाल)को अध्यक्षतामा १० सदस्य कार्यसमिति सर्वसम्मतिबाट चयन गरेको छ ।

नवगठित कार्यसमितिमा उपाध्यक्षद्वय मञ्जु शाक्य, नकुल राई, सचिवद्वय लक्ष्य पालुङ्वा, हर्कराज लिम्बू, सहसचिवद्वय शोभा राई, सोनाहाङ राई रहेका छन् । सदस्यहरू दुर्गामाया तामाङ, निर्मला मगर, र सरिता लिम्बु छन् ।

अधिवेशनको उद्घाटन प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य, पूर्व मन्त्री, प्रदेश सांसद प्रदीप कुमार सुनुवारले गरेका थिए । उनले काँग्रेसमा प्रदेशको नामकरण बहुपहिचानको आधारमा गर्ने कुरामा द्विविधा नरहेको बताए । उनले काँग्रेस नै आदिवासी जनजातिको अधिकारका लागि लड्ने पार्टी भएको बताए ।

काँग्रेस प्रदेश महामन्त्री उमेश थापाले बिपी कोइरालाले पहिलो पटक आदिवासी जनजाति समुदायबाट आफ्नो मन्त्रीमण्डलमा मन्त्री समावेश गराएको स्मरण गराए ।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङले लोकतान्त्रिक व्यवस्था ल्याउन हजारौँ आदिवासी जनजातिहरूले बलिदान गरेको बताउँदै नयाँ कार्यसमितिले समुदायको नेतृत्व गरेर पार्टीमा भूमिका खेल्नुपर्ने बताए ।

पूर्व नगर सभापति निवर्तमान मेयर तिलक राईले धरान आदिवासीहरूको सहर भएको बताउँदै नव गठित कार्यसमितिले समुदाय सम्म पार्टीको कार्य योजना पुराउनु पर्ने बताए ।

धरान नगर सभापति श्याम पोख्रेलको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सदस्य अन्जना राई, महासङ्घ सुनसरी जिल्ला संयोजक विनोद सुनुवारले नव गठित कार्यसमितिलाई शुभकामना दिएका थिए ।