इटहरी : राष्ट्रिय सभा सदस्य निर्वाचन कोशी प्रदेशमा नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा एमालेकी रुक्मिणी कोइराला विजयी भएका छन् । बिहीबार भएको निर्वाचनमा राप्रपा र एमालेका साझा उम्मेदवार उद्धव पौडेललाई पराजित गर्दै सिटौला ७ सय ३० मतभारको अन्तरले विजयी भएका हुन् ।

सिटौलाले ५ हजार २ सय ५२ मतभार हासिल गर्दा पौडेलले ४ हजार ५ सय ६२ मतभार प्राप्त गरे । पौडेलले प्रदेश सभातर्फ ४७ र स्थानीयतर्फ १९ पालिकाबाट मत पाएका हुन् ।

उता कोइरालाले सत्ता गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई करिब १०० मतभारले पराजित गरेकी हुन् । कोइरालाले ५०८६ मतभार प्राप्त गर्दा कार्कीले ४९९२ मतभार प्राप्त गरिन् ।‌

निर्वाचनमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार अनुपस्थित रहे । गच्छदार बिरामी भएका गच्छदार विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत रहेका छन् ।