धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल अस्पतालको सेवा, पठन पाठन सुचारु गर्न माग गर्दै आइतबार देखी नागरिक आन्दोलन शुरु गरिएको छ ।

प्रतिष्ठानका चिकित्सक शिक्षक, कर्मचारीको बढुवा प्रक्रियाको मागको आन्दोलनले अस्पताल सेवा र पठनपाठन प्रायः ठप्प भएको छ । व्यवस्थापन पक्षले कार्यकारिणीमा छलफल भइरहेको बेला उच्च अदालतको आदेशका कारण निर्णय रोकिएको जनाएको छ।

यसैबिच तत्काल सेवा, पठनपाठन शुरु गर्न माग गर्दै धरान-१८ का वडाध्यक्ष नरेन्द्रकुमार राई प्रवीणको अगुवाइमा नागरिक आन्दोलन सुरु भएको हो ।

आइतबार बिहान धरानका युवा, सर्वसाधारणहरूको सहभागितामा प्रतिष्ठानको मुख्य गेटमा मागहरू लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन गरिएको छ ।

प्रदर्शनकारीहरूलाई सम्बोधन गर्दै वडाध्यक्ष राईले प्रतिष्ठानका चिकित्सक कर्मचारीको सिण्डिकेट रहेको आरोप लगाए । सिण्डिकेटमा संलग्न ३७ जनाको भण्डाफोर गर्ने उद्घोष गर्दै उनले भने ‘३७ वटा मेडिकल, २१ वटा ल्याबमा वीपीका कर्मचारी डाक्टरको सिण्डिकेट रहेको छ, त्यो तोड्नुपर्छ ।’

अध्यक्ष राईले प्रतिष्ठानको सेवा सुचारु गराउन अनसन बस्ने घोषणा समेत गरेका छन् । काँग्रेसका नेताले आन्दोलन नगर्न दबाब दिएको खुलासा गर्दै प्रतिष्ठान अहिले बन्द रहेको अवस्था भएकोले आफू चुप लगेर बस्न नसक्ने बताए ।

प्रतिष्ठानका पदाधिकारी, राजनीतिक, शिक्षक, कर्मचारी साथै गुटबन्दीले प्रतिष्ठान धराशायी बनेकोले हाल बन्द भएकोले तत्काल अस्पतालको सेवा र पठनपाठन सुचारु गर्न माग गर्दै प्रतिष्ठान खुलाउन आफूले आन्दोलन गर्नु परेको वडाध्यक्ष राईले बताए ।

सचेत धराने समूहका अध्यक्ष मनोज बस्नेतले प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रह्लाद कार्कीले प्रधानमन्त्रीको निर्देशन नमानेको बताए । युवा यवराज शङ्करले प्रतिष्ठानको गतिरोध तत्काल अन्त्य नगरे आन्दोलन थप चर्काउने बताए ।

धरान-१८ का अजय राईले प्रतिष्ठानमा बिरामीलाई उपचारबाट वञ्चित गर्न नहुने बताए । उनले चिकित्सक कर्मचारीले दलीय स्वार्थमा काम गरिरहेको आरोप लगाउँदै भने ‘बिस पच्चिस जनाको कारणले प्रतिष्ठान धराशायी बन्दै गएको छ ।’

BPKIHS-andalon-2