धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक शिक्षक, कर्मचारीको आन्तरिक बढुवा प्रक्रिया अघि बढाउने प्रयास भइरहेको बेला उच्च अदालत विराटनगरको आदेशले रोकिएको छ ।

प्रतिष्ठानका रजिष्टार प्रा.डा.सूर्यप्रसाद सङ्ग्रौलाले बुधवार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन ।

बढुवा प्रक्रिया तथा नतिजा प्रकाशनका विषयमा कार्यकारिणी समितिको बैठकमा छलफल चलिरहेको बेला हिजो माघ १० गते उच्च अदालत विराटनगरबाट तत्काल निर्णय नगर्न अन्तरिम आदेश जारी भएको विज्ञप्तिमा उल्लेख छ ।

वक्तव्यमा भनिएको छ ‘उच्च अदालत विराटनगरबाट वीपी कोइराला प्रतिष्ठानका नाममा जारी अल्पकालीन अन्तरिम आदेशबाट कर्मचारी नियुक्ति तथा स्वतः बढुवा, नगर्न/नगराउन भन्दै छलफलका लागि मिति २०८०/१०/१७ गते पेशी तोकिएको हुँदा सो अवधि सम्म बढुवा सम्बन्धी सम्पूर्ण प्रक्रियाहरू स्थगन भएको ब्यहोरा सम्बद्ध सबैमा जानकारीका लागि अनुरोध छ ।’

वक्तव्यमा उच्च अदालतमा बढुवा प्रक्रिया रोक्न माग गर्दै कसले, के कारण खुलाएर रिट दायर गरेको हो भन्ने जानकारी गराइएको छैन । हिजो अचानक प्रक्रिया रोक्का गर्न उच्च अदालतको आदेश आएको भएको बताइएको छ ।

BP-letter