धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलन, हडतालले बन्दै हुने स्थिति आएपछि कामु उपकुलपति प्राडा.प्रह्लाद कार्कीले शिक्षक, कर्मचारीको स्तरोन्नति सम्बन्धी कार्यलाई वैधानिक निकास दिन लागिपर्न प्रतिबद्धता जाहेर गर्दै प्रतिष्ठानका अस्पताल सेवा, पठनपाठन, प्रशासनिक गतिविधिहरू सुचारु गर्न शिक्षक तथा कर्मचारीहरूलाई अपिल गरेका छन् ।

कामु उपकुलपति कार्कीले शुक्रवारको मितिमा 'अपिल' जारी गर्दै उक्त प्रतिबद्धता जाहेर गरेका हुन । उनको अपिल आउनु ठिक अघि सोही दिन धरान वडा १८ का अध्यक्ष प्रवीणकुमार राईले वीपीमा तत्काल उपचार सेवा, पठनपाठन सुरु नगरेर धरान नगरवासी विरोधमा उत्रिने चेतावनी दिदैं विज्ञप्ति प्रकाशित गरेका थिए ।

कामु उपकुलपति कार्कीको विज्ञप्तिमा ‘प्रतिष्ठानमा पहिलो विशेषज्ञ चिकित्सकको रूपमा सेवा प्रवेश गरी पुरै ऊर्जाशील जीवन प्रतिष्ठानमै समर्पण गरेका, ज्येष्ठ सदस्य र हाल कार्यकारी भूमिकामा समेत रहेको अर्थमा व्यक्तिगत र संस्थागत तवरले प्रतिष्ठानका शिक्षा कर्मचारीको स्तरोन्नति तथा प्रतिष्ठानको हित रक्षाप्रति म अत्यन्तै संवेदनशील रहेको अनुरोध गर्दछु ।’

‘२०७९ पुष २० गते प्रकाशित शिक्षक, कर्मचारीको स्तरोन्नति सम्बन्धी विज्ञापनको सन्दर्भमा खोजिएको विषय भनेको ‘कानुनी वैधता’ वैधता मात्र हो र कानुनी वैधता स्पष्ट गरेर यसलाई अगाडि बढाए दीर्घकालीन रूपमा सर्वलाई फलदायी उपलब्धि प्राप्त हुनेछ भन्ने सोझो र स्पष्ट मान्यता हो’ भनी कामु उपकुलपति कार्कीले अपिलमा भनेका छन् ।

उनी उपकुलपति हुनुभन्दा अघि बढाइएको बढुवा प्रक्रियाका बारेमा कामु उपकुलपति कार्कीले अपिलमा ‘संविधान र कानुनको प्रावधान हेरेर प्रतिष्ठानले विगतमा गरेका बढुवा प्रक्रियालाई ‘अन्तिम पटक’ भनी गराएको पाइएको र ‘विद्यमान नियमावलीमा लोकसेवा आयोगको कार्यविधि अनुरूप संशोधन नगरी बढुवा गर्न नमिल्ने’ कुरा विगत व्यवस्थापनकै समयका कानुनी रायहरूलाई समेत मध्यनजरमा राखिएको’ उल्लेख गरेका छन् ।’

अपिलमा भनिएको छ ‘हामीले गरेका निर्णयहरूमा भविष्यमा प्रश्न चिन्ह खडा नहोस् र प्राप्त उपलब्धिहरू समेत टिकाउ रहनु भन्ने नियतले यो विषय सञ्चालक परिषदमा लगेर प्रतिष्ठानको नियमको अंश बनाई अन्तिम पटक सम्पन्न गर्ने र भविष्यमा सम्पन्न गरिने बढुवा प्रक्रियाहरू लोकसेवा आयोगको कार्यविधि अनुरूप गर्न सञ्चालक परिषदमा नियमावली संशोधन प्रस्ताव गर्ने हाम्रो नियत रहेको स्पष्ट गर्न चाहन्छु ।’

२०७२ देखी लोकसेवा आयोगमा बारम्बार ताकेता गर्दा पनि प्रतिष्ठानको नियमावली संशोधन भएन भनी विगतको व्यवस्थापनलाई प्रश्न गर्नु र विज्ञापन प्रकाशन भएर पनि किन समयमा बढुवा प्रक्रिया अघि बढाइएन भन्ने प्रश्न गरी विगत व्यवस्थापनका गलत नियतलाई कोट्याउनु भन्दा अब गरिने कार्यलाई वैधानिक बनाउने हामी सबैको प्रयास रहनु मैले आवश्यक दोखेको विषय हो भनी कामु उपकुलपति कार्कीले उल्लेख गरेका छन् ।

अपिलमा भनिएको छ ‘यसैबिच उच्च अदालत विराटनगरबाट मिति २०८०/१०/१० गते प्रतिष्ठानको नाममा जारी अन्तरिम आदेशमा कर्मचारी नियुक्ति तथा स्वतः बढुवा नगर्न/नगराउन भन्दै १७ गते छलफल लागि पेशी टोको जानकारीमा आएको छ । सम्मानित अदालतको आदेश र फैसला नै सर्वोपरि हुने हुँदा सो को पालना गराउनु हामी सबैको कर्तव्य हुन जान्छ ।’

BP-VC-appeal