विराटनगर : माध्यमिक तहका विद्यार्थीहरूलाई योग शिक्षा सिकाउन विराटनगर-८ स्थित महेन्द्र माविमा ५ दिने योग शिविर सोमवार देखी सुरु भएको छ ।

शिविर ८ नम्बर वडा कार्यालय र पतञ्जली योग महानगर समितिले संयुक्त रूपमा आयोजना गरेको हो । शिविर विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गरेका छन् ।

उद्घाटन समारोहमा मेयर कोइरालाले विद्यार्थीहरूका लागि योगको महत्वका बारेमा बताएका थिए । पछिल्लो समय सामाजिक सञ्जाल र प्रविधिको बढ्दो प्रयोगले गर्दा शारीरिक अभ्यास नहुँदा मानिसलाई विभिन्न रोगले सताउने गरेको उनले बताए ।

मेयर कोइरालाले भने ‘शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा आनन्द प्राप्त गर्न योग नै उत्तम विकल्प हो, हरेक विद्यालयमा योग कक्षा सञ्चालन जरुरी छ ।’

कार्यक्रममा वडा ८ का अध्यक्ष राम पोखरेल, पतञ्जली योगका अध्यक्ष सुरेशकुमार अग्रवाल, महिला समिति अध्यक्ष लक्ष्मी चौधरी, व्यवस्थापन समितिका अध्यक्ष निश्चल अर्याल, प्रधानाध्यापक विष्णुकान्त झा, सहायक प्रअ देवीप्रसाद दाहालले शुभकामना व्यक्त गरे ।

शिविरमा विद्यार्थीहरूलाई पतञ्जली योग समिति विराटनगर समितिकी अध्यक्ष शिल्पा प्याकुरेलले योग अभ्यास सिकाउने छन् ।