इटहरी : नेपाली काँग्रेसको 'समुदायमा काँग्रेस' अभियान मङ्गलवार बाट सुरु भएको छ । केन्द्रीय निर्णय बमोजिम काँग्रेसले देशैभर वडा स्तरमा कार्यक्रम सुरु गरेको हो ।

सोही अनुसार काँग्रेस इटहरी उपमहानगर समितिले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । इटहरी उपमहानगरपालिका कार्यालय अगाडि केन्द्रीय प्रतिनिधि प्रदीप सुनुवारको उपस्थितिमा कार्यक्रम उद्घाटन भएको हो ।

बिहान ८ बजे सुरु भएको कार्यक्रममा ६५ प्रिन्ट ब्लड सङ्कलन भएको संयोजक कोविदजंग कार्कीले बताए ।

केन्द्रीय निर्देशन अनुसार समुदायबाटै काँग्रेसको नीति र कार्यक्रमलाई जनतामा बुझाउन लागि परिएको सुनुवारको भनाइ छ । सुनसरी जिल्ला प्रतिनिधिको रूपमा आएका केन्द्रीय सदस्य सुनुवारले काँग्रेसमा जागरण सुरु भएको प्रस्ट पारे ।

कार्यक्रम बारे प्रकाश पार्दै उपमहानगर सभापति हेमकर्ण पौडेलले काँग्रेसले सुरु गरेको अभियानबाट जनताका समस्या बुझ्ने र सोही अनुसार साझा सङ्कल्प तयार पार्ने बताए । लोकतन्त्र र जनजीविकाको सवालमा काँग्रेस दृढ संकल्पित भएको बताउँदै उनले समाजलाई जोडेर एकताबद्ध बनाउने प्रस्ट पारे ।

आगामी माघ २६ गते सम्म विभिन्न कार्यक्रम गरेर अभियान जारी रहने उपमहानगर सचिव विक्रम घिमिरेको भनाइ छ । उनका अनुसार २६ गते स्वर्गीय सुशील कोइरालाको सम्झनामा कार्यक्रम गर्ने तयारी भएको छ ।