इटहरी : प्रथम युवा क्लब टुर्नामेन्टको उपाधि स्पोर्टस् क्लब एरिनाले हात पारेको छ ।

इटहरीको पचरुखीमा आयोजित फुटसल प्रतियोगितामा विजयी भएको एरिनाले ३५ किलोको खसी, सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको हो । उपविजेता रहेको पाथीभरा फुटसलले ३५ किलो कुखुराको मासु ट्रफी मेडल र प्रमाणपत्र पाएको छ ।

माघ १८ र १९ गते भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको कार्यक्रम संयोजक सङ्गम क्षेत्रीले जानकारी दिए । उनका अनुसार पछिल्लो समय फुटसल प्रति युवाहरूको रुचि बढ्दै गएको कारण शारीरिक तथा मानसिक स्फूर्ति बढाउन कार्यक्रम आयोजना गरिएको हो ।

नेपाल तरुण दल सुनसरी अध्यक्ष सिजन गुरुङले उद्घाटन गरेको प्रतियोगिताको फाइनल खेलको प्रमुख अतिथिमा इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख टेकबहादुर कार्कीको सहभागिता रहेको थियो ।